हेटौंडाः पछिल्लो समय देशका विभिन्न स्थानमा भइरहेको महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार हेटौंडामा युवाले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा अगुवाई गर्नुभएका विकेशलाल श्रेष्ठले समाजले नै हाम्रो चेलीको बलात्कार गरेको बताउनुभयो । उहाँले अपराधीलाई कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्व हुनुपर्ने बताउनुभयो ।
न्यायका लागि स्वतन्त्र जनदवाव अभियानले युवाको सहभागितामा हेटौंडाको बुद्धचोकमा मार्चपाससहित विरोध प्रदर्शन गरेको हो । हेटौंडा उपमहानगरपालिकाको हुप्रचौरबाट शुरु भएको र्याली बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । युवाहरुले कानूनी राज्यको रक्षा गर, महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कारवाही गर, बलात्कारी खुलेआम बलात्कृत गुमनाम, बलात्कारी मानव होइन्, न्याय हराएको मेरो देशलगायत विभिन्न नारा लगाएका थिए । बलात्कारको विषयमा सचेतनामूलक नाटक समेत मञ्चन गरिएको थियो ।