हेटौंडाः ७१ औं राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा शुक्रबार हेटौंडामा संगीत थेरापी कार्यक्रम गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुद्वचोकमा संगीत थेरापी कार्यक्रम गरेको हो ।
विभिन्न कारणले तनावमा रहेका व्यक्तिहरुलाई तनावमुक्त बनाउने उद्देश्यले प्रजातन्त्र दिवसका दिन संगीत थेरापी गरिएको हो । शहीद दिवसको अवसरमा गत माघ १५ गतेदेखि प्रदेश प्रहरीले संगीत थेरापी सुरु गरेको थियो ।
बागमती प्रदेश प्रहरी व्याण्ड गुल्मका प्रहरीहरुले विभिन्न लोकप्रिय सांगीतिक धुन बजाएर तनावमुक्त गराउने प्रयास गरेका थिए । हरेक महिना प्रदेशको कुनै एक स्थानमा संगीत थेरापी कार्यक्रम गरिने बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।