पक्राउ परिएका अभियुक्तहरु ।

हेटौंडाः विभिन्न मितिमा अदालतबाट कैद तथा जरिवानाको फैसला भएर फरार रहेका प्रतिवादीहरु तथा अपराधमा संलग्न अभियुक्तहरु पक्राउ गर्न प्रहरी सक्रियता बढ्दै गएको छ । प्रहरीले फरार प्रतिवादी तथा अभियुक्तलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाइरहेको हो ।

जिल्ला अदालत मकवानपुरको गत चैत १५ गतेको लगत तथा उच्च अदालत पाटन, हेटौंडा इजलासको २०७६ भदौ ९ गतेको फैसलाले बैंकिङ कसुर मुद्धामा जरिबाना तिर्न बाँकी फरार अभियुक्तलाई प्रहरीले बुधबार पाटन महानगरपालिका–१४ बाट पक्राउ गरेको छ । बैंकिङ कसुरबापत ३४ लाख ६२ हजार ८ सय र ९ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्न बाँकी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ बस्ने एकराज थिङलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

बरामद गरिएका २५ किलो लागूऔषध गाँजा ।

जिल्ला अदालत मकवानपुरको २०६६ मंरि २८ गतेको फैसलाले जबरजस्ती करणी मुद्धामा ५ वर्ष कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । साविक चुरियामाई गाविस–२ का ४१ वर्षीय श्री मुक्तानलाई बुधबार हेटौंडा–५ बाट पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कैद भुक्तानीका लागि भीमफेदी कारागार पठाइएको छ ।

गत मंसिर २७ गते मकवानपुरको थाहा नगरपालिका वडा नं. ४ स्थित त्रिभुवन राजपथ सडक खण्डमा ना ६ ख ८५९४ नम्बरको ट्रकमा पालुङ निवासी ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङ र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले थाहा नगरपालिका–१ बस्ने ३२ वर्षीय सोमबहादुर तामाङलाई काठमाडौं महानगरपालिका–१४, कलंकीबाट गत सोमबार पक्राउ गरेको हो । तामाङलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिनुभएको छ ।