हेटौंडाः ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुक्रबार हेटौंडामा संगीत थेरापी कार्यक्रम हुने भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज अपराह्न ४ः०० बजे बुद्धचोकमा संगीत थेरापी कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
विभिन्न समस्याका कारण तनावको अवस्था महसुस गर्ने आम नागरिकहरुलाई संगीत थेरापीमार्फत तनावमुक्त बनाउने उद्देश्यले संगीत थेरापी कार्यक्रम सञ्चालन गर्न लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर कार्कीले जानकारी दिनुभयो । बागमती प्रदेश प्रहरी व्याण्ड गुल्मद्वारा विभिन्न प्रकारका सांगीतिक धुनहरुमार्फत् तनाव व्यवस्थापनमा सहयोग पुग्ने भएकाले स्वास्थ्य सुरक्षाप्रति पूर्ण सावधानी अपनाउँदै कार्यक्रममा आम नागरिकको सहभागिताका लागि कार्कीले अनुरोध गर्नुभएको छ ।