हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन चन्द्रागिरी, काठमाडौको सहजीकरणमा बिहीबार मार्खुमा कार्यशाला सञ्चालन भएको हो ।
कार्यशालामा बदलिँदो परिवेशमा तीन तहको सरकारको अन्तरसम्बन्ध र योजना तर्जुमा अभ्यास, योजना र विकास योजना, आवधिक योजना, विधि, प्रक्रिया र परिणाम, विषय क्षेत्रगत आधार सुचक र लक्ष्य सुचक, मध्यकालीन खर्च संरचना, योजना तर्जुमाका लागि आवश्यक निर्देशक समिति, विषयगत समिति र प्राविधिक समिति र तिनीहरुको कार्य जिम्मेवारी लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रमको समापनमा मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाले कार्यशालाले आवधिक योजना र मध्यकालीन खर्च संरचनाको विषय र महत्व छर्लड्ड भएको र यसबाट बनेको दस्तावेजलाई टेकेर आगामी दिनमा अगाडि बढ्ने बताउनुभयो ।
ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले आवधिक योजना निर्माण गर्न हिजोका दिनमा कुरा उठाउँदा विषयगत क्षेत्रका व्यक्तिहरुले आ–आफ्नो कर्तव्य र जिम्मेवारीबोध नहुँदा ढिला भएको औँल्याउँदै अब निर्माण गर्ने दस्तावेजका लागि सबै सरोकारवालाहरुले प्रतिबद्ध भै सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
आवधिक योजना निर्माणका लागि फागुन महिनाभर विभिन्न चरणमा तयारीका कार्यक्रम तथा गतिविधि सम्पन्न गरी ३ दिने कार्यशाला गोष्ठी गरिने भएको छ । जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षक, नागरिक, कर्मचारी लगायत विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागितामा विशेष महत्वका साथ योजना निर्माण गर्नुपर्ने भएकाले सेवाग्राहीहरुलाई असर नपर्ने गरी गोष्ठीका लागि मिति र स्थान तय गरिने भएको छ ।