हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुर प्रमुख रघुनाथ खुलालले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको अभियानमा सबै सरोकार निकायको सहकार्य र सहयोग आवश्यक हुने बताउनुभएको छ । मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरेको तेस्रो वर्ष प्रवेशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणमा सबैको सहकार्य जरुरी रहेको बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख खुलालले सरकारको नीतिमा रहेको सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र बनाउने अभियानमा मानवसेवा आश्रमसँगै सरकारी तथा गैरसरकारी संघ/संस्था, समुदाय र व्यक्तिको सकारात्मक पहल हुनुपर्ने बताउनुभयो । मकवानपुर देशमै पहिलो सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गर्दाको समय सम्झँदै उहाँले सबैको सकारात्मक प्रयासबाट नै त्यो सम्भव भएको बताउनुभयो । जिल्लालाई हरेक हिसाबले सकारात्मक बनाउने उद्धेश्यका साथ अहिले पनि काम भइरहेको भन्दै उहाँले आगामी दिनमा समेत निरन्तर सेवा प्रदान गर्न आग्रह गर्नुभयो । समुन्नत समाजसँगै सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि समाजको चेतना अभिवृद्धि हुनुपर्ने र मानवता प्रबद्र्धनको काम गर्न जरुरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर बीकेले मानवसेवा आश्रमले गरेको कार्य मानवताको उदाहरणीय कार्य भएको बताउनुभयो । तीन तहका सरकारले यसमा सहयोग गर्नुपर्ने भन्दै उहाँले बागमती प्रदेश सरकारले यसलाई अभियानकै रुपमा सुरु गरेको बताउनुभयो । उहाँले सहयोगापेक्षी मानव सडकमा आउनुको कारण पत्ता लगाएर त्यसमा काम गर्नुपर्ने भन्दै त्यस्ता मानवहरु सडकमा नआउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनले पछिल्लो समय सरकारले समेत अभियनलाई अपनत्व ग्रहण गरेकाले अभियान सफल हुने बताउनुभयो । उहाँले अभियानलाई सफल बनाउन विशेषगरी स्थानीय तहलाई सहभागी गराउनुपर्ने र स्थानीय तहले अपनत्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहयोगापेक्षी मानवमुक्त जिल्ला घोषणापश्चात् मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाले प्रदान गरेका सेवाहरुका बारेमा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी गराउनुभएको थियो । मानवसेवा आश्रमले सहयोगापेक्षी सडक मानवमुक्त मकवानपुरको घोषणापश्चात् हालसम्म २ सय ७२ जनाको उद्धार गरिसकेको छ भने १ सय १७ जनाको पारिवारिक पुनर्मिलन गरेको छ । आश्रममा ३१ जनाले देहत्याग गरेका छन् भने आश्रममा हाल ८१ जना महिला, एकसय २१ जना पुरुष र ३ बालबालिकासमेत २ सय ५ जनाले सेवा लिइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
मानवसेवा आश्रमले उद्धार गरेको सहयोगापेक्षी सडक मानवको संख्याअनुरुप खाद्यान्न, लत्ताकपडा, औषधी उपचारमा समस्या रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । यसैगरी, स्थानीय तहको सहकार्य कम, उद्धारका लागि अनुरोध गर्ने तर अभिभावकत्वका लागि तयार नरहने, परिवारिक पुनर्मिलनका लागि लामो दुरीमा जाँदा साधनको अभाव, मदिरा सेवन गर्ने र अव्यवस्थित बसोबास गर्ने व्यक्तिलाई प्रहरीले आश्रममा ल्याउँदा व्यवस्थापनमा समस्या हुने गरेको उहाँले बताउनुभयो । साथै आश्रममा आएका व्यक्तिहरु भागेर जाने तथा वास्तविक सहयोगापेक्षी पहिचानमा समस्या रहेको बताउनुभयो ।
बालबालिकाहरुलाई संरक्षण गर्दै आएको मामाघर नेपाल मकवानपुरका संरक्षक अर्पण पराजुलीले घोषणाको दुई वर्षमा जिल्लामा निकै परिवर्तन भएको बताउनुभयो । उहाँले यसवर्ष २ जना बालक र २ जना बालिका गरी जम्मा ४ जना बालबालिका सडकमा आएको अवस्थामा फेला पारिएको जानकारी दिनुभयो । प्रत्येक पालिकामा सरकारले बालगृह, बृद्वाश्रमलगायत सहयोगापेक्षीको हेरचाह गर्ने संस्था निर्माण गरी पारिवारिक पुनर्मिलनको व्यवस्था गर्नुपर्नेमा पराजुलीले जोड दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव हरि लम्साल, हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख भैरव कुमाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली, सि–आन पुनस्र्थापना केन्द्रका प्रमुख सौजन डीसी, ओम बृद्धाश्रमका सचिव दीपक सुवेदीलगायत सहयोगी संस्थाका प्रतिनिधिहरुले अभियानलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो ।