छात्रवृत्ति पाएर कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाईपछि कार्यक्रमका अतिथिसहित खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः अभिभावक विहिन तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय तहको शिक्षामा छात्रवृत्ति सहयोग गरेको नारी संरक्षण केन्द्रले कक्षा १२ उत्तीर्ण गरेका ११ जना विद्यार्थीलाई मंगलबार सम्मान गरेको छ । पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्मै विद्यार्थीका लागि आवश्यक शिक्षण शूल्क, पोशाक, जुत्ता, पाठ्यपुस्तक, कापी, कलमको सबै खर्च व्यहोरेको नारी संरक्षण केन्द्रले विद्यालय तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई विदाई गरेको हो ।

हेटौंडा–४, भैरवरोडस्थित कार्यालयमै विदाई कार्यक्रमको आयोजना गरेर केन्द्रले उच्च शिक्षा हासिल गर्ने कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेको छ । केन्द्रकी अध्यक्ष दीपाकुमारी गुरुङको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कक्षा १२ उत्तीर्ण भएर सम्मानित भएकी हेटौंडा–८ की बिनु थापाले नारी संरक्षण केन्द्रको सहयोगमै विद्यालय तहको अध्ययन पूरा गर्न सफल भएको र आगामी उच्च शिक्षा अध्ययनको कार्यलाई पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । थापाले काम गरेर आम्दानीसँगै अध्ययनलाई निरन्तरता दिने बताउनुभयो ।

अर्की छात्रा सृष्टि राईले पूर्वप्राथमिक तहदेखि दश जोड दुई तहमा विज्ञान संकायमा अध्ययन गर्न नारी संरक्षण केन्द्रले गरेको सहयोगबाटै सम्भव भएको बताउनुभयो । नारी संरक्षण केन्द्रको सहयोग नभएको भए शिक्षाबाटै बञ्चित हुनुपर्ने अवस्थाको जानकारी दिनुहुँदै राईले दश जोड दुई तहमा विज्ञान विषय अध्ययन पूरा गरेर उच्च शिक्षामा पनि राम्रो अध्ययन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक राम मिजारका अनुसार अमेरिकाको सहयोगी संस्था फ्रेण्ड्स अफ उमन प्रोटेक्सन सेन्टरसँग सहकार्य गरेर नारी संरक्षण केन्द्रले अभिभावकविहिन एवम् विपन्न परिवारका बालबालिकाको शिक्षामा सहयोग गरिरहेको जानकारी दिनुभयो । केन्द्रले बालबालिकालाई औपचारिक शिक्षामा सहयोग गर्नुका साथै सीप विकासका कार्यक्रम समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । विद्यालय तहको शिक्षामा सहयोग गर्दै आएको केन्द्रबाट ११ जना विद्यार्थीलाई विदाई गरिए पनि ३९ जना विद्यार्थीले सहयोग पाइरहेका छन् । केन्द्रले आफ्नै भवनमा बालगृह समेत सञ्चालन गरिरहेको छ ।