बागमती प्रदेश सरकारको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख विष्णु प्रसाई ।

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा प्रदेश सरकारले सामाजिक सेवाको क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा संस्था, प्रदेश सरकारका विशिष्ट कर्मचारी, प्रदेश सरकार मातहत एक वर्ष भन्दा बढी सेवा गरेका उत्कृष्ट कर्मचारी, सेवानिवृत्त कर्मचारीलाई सम्मान गरेको छ ।

वार्षिकोत्सव समारोहमा सम्मानित प्रदेश सरकारका विशिष्ट कर्मचारीहरु ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले योजनावद्ध ढंगबाट प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले सुरुवातमै आवधिक योजना बनाएर प्रदेश सरकारले काम गरेको र नतिजाहरु देखिन थालेको बताउनुभयो । प्रदेश सरकारले पारदर्शितासहित सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गरेको सरकारको विरुद्धमा चौतर्फी आकर्षण भइरहेको मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

एक वर्षभन्दा बढी समय प्रदेश सरकारमातहत रहेर काम गरेका कर्मचारीमध्ये उत्कृष्ट कर्मचारी घोषित भई सम्मानित कर्मचारीहरु ।

प्रदेश प्रमुख विष्णु प्रसाईले प्रदेश सरकारले प्रशंसनीय कार्य गरेको बताउनुहुँदै प्रदेश सरकारलाई सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले नमूना काम गरेको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय सरकारको साझा सूचिमा रहेका कानुन निर्माणमा केही असहजता रहेको औँल्याउनुहुँदै संघीयता खर्चालु हुन्छ भनेर प्रचार गरिए जस्तो नभएको बरु विकास निर्माणका कार्यहरुमा सकारात्मक अवस्था देखिएको बताउनुभयो ।

बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिकेले प्रदेश सरकारले ३ वर्षको अवधिमा एक खर्ब ३३ करोड रुपैयाँ खर्च गरेको र प्रदेशको पुँजीगत खर्चको अवस्था ५४ प्रतिशत रहेको बताउनुभयो । प्रदेशको आम्दानीको अवस्था पनि सकारात्मक रहेको प्रमुख सचिव बिकेको भनाइ थियो । प्रदेशको वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ, उपसभामुख राधिका तामाङसहित सत्तारुढ दल नेकपाका माधव–प्रचण्ड समूहका प्रदेश सभा सदस्य तथा नेताहरु भने अनुपस्थित थिए ।