हेटौंडाः घरजग्गा व्यवसायी संघ मकवानपुरको दोस्रो साधारणसभा शनिबार भएको छ । हेटौंडा–६, बारुतेमा साधारणसभा भएको हो । संघका अध्यक्ष ध्रुव घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
एक सय भन्दा बढी व्यवसायी तथा संस्था सदस्य रहेको संघको साधारणसभामा सचिव शम्भु पुडासैनीले संस्थागत प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पवन मैनालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा संघका अध्यक्ष ध्रुव घिमिरेले घरजग्गा व्यवसायीलाई राज्य र समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेको औँल्याउनुभयो । तीनै तहका सरकारको नकारात्मक दृष्टिका कारण पनि घरजग्गा व्यवसायी मारमा परिरहेको घिमिरेको भनाइ थियो । व्यवस्थित बसोबास विकास गर्न व्यवसायीले सरकारलाई सहयोग गरिरहेको घिमिरेको दावी थियो ।
साधारणसभामा नेकपाका नेता एकालाल श्रेष्ठ, नेपाली कांग्रेसका नेता प्रदीप कोइराला, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, बैंकर्स संघ मकवानपुरका अध्यक्ष रमेश प्याकुरेल, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको पनि उपस्थिति रहेको थियो ।