हेटौंडाः हेटौंडा–१, चौकीटोलमा रहेको तत्कालीन रोपवे परिसरमा सवारी परीक्षण कार्यालय हेटौंडाकोे भौतिक संरचना बन्ने भएको छ । दुई दशकभन्दा बढी समयदेखि बन्द भएको रोपवेको खाली जमिनमा सवारी परीक्षण कार्यालय हेटौंडाको संरचना निर्माण गरिने तयारी भएको छ ।
कार्यालयको भौतिक संरचना बनाउन संघीय सरकारअन्र्तगत्को सवारी परीक्षण कार्यालय हेटौंडाले डीपीआरसमेत बनाउँदै गरेको कार्यालय प्रमुख श्रीकान्त चौधरीले जानकारी दिनुभयो । अहिले उक्त कार्यालय हेटौंडा–११ थानाभर्याङमा भाडाको घरमा बस्दै आएको छ । २३ वर्ष अघिसम्म ५२ कठ्ठा जग्गा रहेको रोपवेको २० कठ्ठा जग्गामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालय र श्रम कार्यालयले भवन निर्माण गरेका छन् । श्रम कार्यालयको भवनमा बागमती प्रदेशको दुईवटा मन्त्रालय बसेको छ ।
यातायात व्यवस्था विभागको नाममा बाँकी रहेको रोपवेकोे ३२ कठ्ठा जग्गामा सवारी परीक्षण कार्यालय हेटौंडाको भौतिक संरचना निर्माणको काम अघि बढाउन लागिएको हो । कार्यालयले रोपवे बन्द भएर थन्किएका डिब्बा, तार, नटबोल्ट, सवारी साधनलगायत कवाडी सामानहरुको लिलामी गर्न लगत तयार गर्न थालेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, भवन कार्यालयका इन्जिनियरलगायतले चौकीटोलस्थित रोपवेको जग्गा र भौतिक संरचनाको स्थलगत अवलोकन गर्नु भएको हो । सवारी परीक्षण कार्यालयले आफ्नो भौतिक संरचना बनाउने तयारी गरेकाले जीर्ण र कवाडी भएको सामानहरुको लिलामी गर्न लगत तयारी सुरु भएको प्रशासकीय अधिकृत गर्तौलाले बताउनुभयो ।
चौकीटोलमा रहेको रोप–वेको लोडिङ स्टेशनमा संयुक्त सुमोे काउन्टर राखिएको थियो । हेटौंडा बजारमा हुने भिडभाड रोक्ने तथा नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले राखिएको काउन्टर प्रभावकारी बन्न नसकेपछि हटाइएको थियो । लामो समयदेखिको बेवास्ताको शिकार बनेको रोपवे क्षेत्र लागूऔषधको प्रयोगकर्ताहरुको अखडा बनिरहेको छ । वि.संं २०१४ सालदेखि विभिन्न प्रकारका सामानहरु रोपवेमा राखेर हेटौंडाबाट काठमाडौंसम्म ओसार्ने गरिन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट काठमाडौंको मातातीर्थसम्म २२ किलोमिटररोपवे लाइन बनाउनुभएको थियो । पछि धोर्सिङबाट हेटौंडा र मातातीर्थबाट टेकुसम्म लम्ब्याएर ४२ किलोमिटर बनाइएको थियो । राणा शासनकालमा काठमाडौंसँग सडक यातायातको पहुँच नहुँदा बीरगञ्जबाट हेटौंडा हुँदै भीमफेदीसम्म मोटरबाट पुर्याइएका मेशिनरी तथा अन्य सामानहरु रोपवेबाट काठमाडौं लग्ने गरिएको थियो । रोपवे बन्द हुनुअघि हेटौंडाबाट सिमेन्ट, रंग, खाद्यान्नलगायत सामग्री काठमाडौंसम्म ढुवानी गरिन्थ्यो ।
वि.सं. २०५४ सालसम्म सञ्चालनमा आएको रोपवेबाट सामान ढुवानी भाडा निकै सस्तो रहेको थियो । धोर्सिङदेखि सञ्चालनमा आउने समयमा ८ टन सामान ढुवानी क्षमता रहेको रोपवे हेटौंडासम्म विस्तार भएपछि रोपवेको क्षमता वृद्धि गरी प्रतिघण्टा २५ टन पुगेको थियो । रोपवे सञ्चालनमा रहेको समयमा कतिपय ठाउँमा रोपवेका टावरहरु टाढा हुँदा तारमा डिब्बाहरु लत्रिने गरेका कारण हेटौंडा तथा अन्य स्थानमा रोपवेमा लोड गरिएका सामानहरु चोरी हुने गरेको रोपवेका सुरक्षागार्ड वीरबहादुर तामाङले बताए । ८ वटा टर्मिनल, ७ वटा स्टेशन र ३ सय ६० वटा डिब्बा रहेको रोपवेका अधिकांश तार तथा डिब्बाहरु हराइसकेका छन् । पछिल्लो समय बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं रोपवे सेवा पुनः सञ्चालन गर्ने चर्चा चलाएको भए पनि ठोस निर्णय हुन सकेको छैन ।