१३ गुम्बाको पुनर्निर्माण गर्दैं ।

हेटौंडाः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरले चालु आर्थिक वर्ष २०७७/०७८ मा मकवानपुरमा रहेको १३ गुम्बाको पुनर्निर्माण गर्ने भएको छ ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प तथा त्यसपछिको पराकम्पनका कारण क्षतिग्रस्त भएका विभिन्न निजी आवास, सरकारी भवन, मठ–मन्दिर, विद्यालयलगायतका भौतिक पूर्वाधारहरुको पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्य गर्दै आइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरले यसवर्ष जिल्लाका विभिन्न ठाउँमा रहेका क्षतिग्रस्त १३ वटा गुम्बाहरुको पुनर्निर्माण गर्ने भएको हो ।

विनाशकारी भूकम्प तथा त्यसपछिको पराकम्पनका कारण क्षतिग्रस्त मकवानपुरका २६ वटा गुम्बाहरुसँग गत आर्थिक वर्ष २०७६/०७७ मा पुनर्निर्माणका लागि सम्झौता भएकोमा २५ वटा गुम्बाहरुको पुनर्निर्माण गरिएको छ । एउटा गुम्बाको पुनर्निर्माण कार्य नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरका आयोजना प्रमुख विमल किशोर केपीले बताउनु भयो ।

त्यसैगरि चालु अर्थिक वर्ष २०७७/०७८ मा हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ मा रहेको स्वईनाम पाली गुम्बा, वडा नम्बर १९ मा रहेको छोयालिङ् गुम्बा, वडा नम्बर १४ मा रहेको उर्जेन पेमा डुपकिलिङ् गुम्बा, वडा नम्बर १३ मा रहेको तासी छोयालिङ् गुम्बा, वडा नम्बर १६ मा रहेको उर्जेन छोयालिङ् गुम्बा रहेका छन् । त्यसैगरी बागमती गाउँपालिका अन्र्तगत् वडा नम्बर ३ मा रहेको पेमा छोयालिङ् गुम्बा, वडा नम्बर ८ मा रहेको तासी जमलिङ् गुम्बा, बकैया गाउँपालिका वडा नम्बर ६ मा रहेको मञ्जुश्री गुम्बा, राक्सिराङ गाउँपालिका वडा नम्बर ३ मा रहेको पेमा जिच्यालिङ् गुम्बा, कैलाश गाउँपालिका वडा नम्बर १० मा रहेको तासी डिचेन टेरलिङ् गुम्बा, ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको पेमा छोयालिङ् गुम्बा, वडा नम्बर ४ मा रहेको रिङ्डुङ डोङ्टुङगिलिङ् गुम्बा र मनहरी गाउँपालिका वडा नम्बर ५ मा रहेको तासी छोयालिङ् गुम्बा गरी १३ वटा गुम्बाहरु पुनर्निर्माण गर्ने भएको आयोजना प्रमुख विमल किशोर केपीले बताउनुभयो ।

पुनर्निर्माण गर्न लागिएका गुम्बाहरुको ७० प्रतिशत खर्चबापत करिब ६ करोड ९९ लाख ८२ हजार रुपैयाँ नेपाल सरकारले व्यहोर्ने र बाँकी ३० प्रतिशत उपभोक्ता समितिले व्यहोर्ने आयोजना प्रमुख केपीले बताउनु भयो । भूकम्पबाट क्षतिग्रस्त ९० प्रतिशत निजी आवास पुनर्निर्माणका लागि सम्झौता भइसकेको र मंसिर मसान्तसम्म बाँकीको अन्तिम पटक सम्झौता हुने आयोजना प्रमुख केपीले बताउनुभयो । यस्तै पछिल्लो समय भूकम्प पुनर्निर्माण प्राधिकरणले रेट्रोफिटिङ गर्नुपर्ने निजी आवासलाई पनि सहज बनाएको छ ।

करिब ७ हजार घरहरु रेट्रोफिटिङ गर्नुपर्ने मकवानपुरमा अब पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिएर प्राविधिकलाई देखाएर सल्लाहबमोजिम मर्मत गर्न पाउने भएको उहाँले बताउनु भयो । अहिले प्राधिकरणले केही सहज प्रावधान बनाएपछि लाभग्राहीहरुले समयमा नै पुनर्निर्माण सम्पन्न गर्ने आशा गरिएको उहाँको भनाई छ ।