कोरोना संक्रमण बढिरहेपछि सरकारले यातायातका साधन, बजार, बैंकिङ क्षेत्र लगायतमा लगाएको बन्दाबन्दी खुल्ला गर्न अनुमति दिएको छ । कोभिड अन्त्य भएको होईन तर छ महिनादेखि बन्द रहेको समाज खुल्ला भएको हो । जीवन सहज गराउन आम नागरिकको माग पनि यही थियो । तर कोभिडबाट बँच्ने जिम्मेवारी अब नागरिक स्वयम्को हातमा आएको छ । नेपालमा दुई जना कोरोना संक्रमित हुँदा लगाइएको बन्दाबन्दी छ महिनापछि ६० हजार संक्रमित पुग्नै लाग्दा खुल्ला गरिदिएको छ । यसले नागरिक स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार भएको प्रश्न उठ्न सक्छ । तर आवश्यकताले समाजका सबै क्षेत्र खुल्ला गर्नुको विकल्प नै थिएन । अझै पनि बन्दै राख्ने हो भने रोगले भन्दा भोक र शोकले मानिसको मृत्यु हुने अवस्था छ ।

विशेषगरी यातायातका साधनहरु खुल्ला रुपमा सञ्चालन हुँदा कोभिडको संक्रमण पनि पक्कै बढ्ने छ । यसका लागि व्यक्ति स्वयम् जिम्मेवार र जवाफदेही हुन पर्छ । लकडाउन खुल्ला गर्न माग गर्ने र भोलि संक्रमण फैलिए त्यसको दोष सरकारलाई दिन मिल्दैन । त्यसैले अब कोरोनासँगै बाँच्ने अभ्यास गर्नु आवश्यक छ । आर्थिक कारोबार बिना नागरिक जीवन झन तहसनहस हुँदै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै दैनिकी सञ्न्चालनका लागि खुल्ला गरिएको छ । प्रत्येक नागरिकले सावधानी नअपनाउने हो भने संक्रमण थप बढ्ने निश्चित छ । यस्तो जानकारी हुँदै गर्दा पनि होशियारी अपनाउन नसक्नु नागरिककै कमजोरी हुने छ । त्यसैले निषेधाज्ञा वा बन्दाबन्दी मात्र अन्त्य भएको हो कोरोनाको संक्रमण कम नभएको वास्तविकता बिर्सने भुल गर्ने छैन ।

लामो समयदेखि यातायातका साधनहरु थन्किएका छन् । नागरिकका व्यवहारिकदेखि अन्य प्रयोजनमा जिल्ला भित्र वा अन्य जिल्ला आउजाउ रोकिँदा समाज पुरै बन्द बन्यो । कोरोनाले विश्वलाई फेरी एक पटक १८ औं शताव्दीको अवस्थामा पुर्‍याइदियो । त्यसैले विश्वका ठूला देशहरुले संक्रमण बढ्दै गए पनि समाजलाई खुल्ला नै राखे । तर नेपालमा लामो समय बन्दाबन्दी गर्दा पनि कोरोना नियन्त्रण नभएको मात्र हैन कि तिव्ररुपमा बढ्दै गएको छ । यही अवस्थामा सरकारले सडकदेखि हवाई यातायात सहज रुपमा सञ्चालन गर्न दिने निर्णय गएको छ । नागरिकको माग अनुसारकै निर्णय भए पनि संक्रमण बढ्ने निश्चित छ । कोरोना संक्रमण थप व्यापक हुँदा त्यसको सामना गर्न सबै नागरिक तयार हुनुको अब विकल्प छैन ।

चाडपर्व सुरु भएका छन् । यसका लागि पनि बजार र यातायात सञ्चालन हुन आवश्यक छ । व्यवसायीहरुले आफ्ना पसलहरुमा स्वास्थ्य सावधानी अपनाउनु जरुरी छ । यस्तै उपभोक्ताहरुले पनि आफुबाहेक सबै संक्रमित छन् भन्ने मान्यता राख्नु पर्दछ । आवश्यक नहुँदासम्म बजार नजाने र गएमा पनि धेरै पसल डुल्ने वा धेरै समय बजारमै बस्ने बानी छाड्न आवश्यक छ । यस्तै यातायातका साधनमा सिट क्षमता भन्दा आधा संख्यामा मात्र यात्रु राख्न भनिएको छ । यो नियम व्यवसायीले मात्र नभई यात्रु स्वयम्ले पनि पालना गर्न आवश्यक छ । मापदण्ड भन्दा बढी भएमा आफु उक्त सवारीबाट यात्रा नगर्न तयार नभएसम्म व्यवसायीले यात्रुहरुलाई सेवा दिने बहानामा स्वास्थ्य मापदण्ड उल्लंघन हुने र संक्रमण थप बढ्ने खतरा हुने छ । तसर्थ होशियार बनौं ।