तस्वीरः गुगल ।

विगत दुई/महिना अगाडिसम्म छिमेकी मुलुक भारत लगायत विदेशबाट आउने मानिसहरुमा देखिएको कोरोना संक्रमण अहिले विदेशमा यात्रा नगरेका तथा कुनैपनि कोरोनाको बिरामीको सम्पर्कमा नआएका व्यक्तिहरुमा समेत संक्रमण देखिन थालेको छ । पहिलो पंक्तिमा रहेर स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुमा समेत यसको संक्रमण देखिएबाट यो रोगको संक्रमण धेरै जनघनत्व भएका शहरहरुमा समुदायस्तरमा फैलिन लागेको देखिन्छ ।

बसन्त अधिकारी

नेपालमा हालसम्म ५५ हजार भन्दा धेरै मानिस संक्रमित हुँदा १५,९०० भन्दा बढी (करिब २९ प्रतिशत) संक्रमण बागमती प्रदेशमा भएको छ । त्यस्तै अहिलेको सक्रिय संक्रमितको संख्या हेर्ने हो भने नेपालको १५,३९३ सक्रमितको पचास प्रतिशत भन्दा बढी यो प्रदेशमा रहेकाबाट नयाँ संक्रमितको दर बढिरहेको देखिन्छ । यो रोगको निको हुने दर यस प्रदेशमा करिब ४९ प्रतिशत रहेको छ । नयाँ संक्रमितको संख्या अलि बढी भएकोले निको हुने दर अरु प्रदेशमा भन्दा यहा केहि कम भएको देखिन्छ । त्यस्तै, यस प्रदेशमा सक्रिय संक्रमितहरु संस्थागत तथा घरको आइसोलेसनमा करिब करिब बराबर जस्तो रहेका छन् । नेपालको अधिकांश विशिष्टीकृत अस्पताल यहि प्रदेशमा रहेको कारणले पनि अधिकांश जटिल अवस्थाको बिरामी (१५५ जना) ले आइसीयु तथा भेन्टिलेटरमा कोभिड संक्रमणको उपचार गरिरहेका छन् ।

बागमती प्रदेशमा उमेर समुहको तथ्यांक हेर्ने हो भने अधिकांश संक्रमण ५० बर्ष भन्दा कम उमेर समुहमा रहेको छ । यदि संक्रमण ६० वर्ष भन्दा बढी उमेर समुह तथा दीर्घ रोगीहरूमा फैलियो भने यसबाट हुने जटिलता तथा मृत्युदर धेरै हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । तीन वटै तहका सरकारको समन्वयमा समाजमा कोरोनाको संक्रमण फैलिन नदिन निश्चित अवधिका लागि लकडाउन गरियो । उपरोक्त सन्दर्भमा कोरोना संक्रमणको नियन्त्रण तथा यसबाट हुनसक्ने जनधनको क्षति कम गर्न बागमती प्रदेश सरकारले निम्न प्रयासहरु जारी राखेको छः

क) कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति पत्ता लगाई क्वारेन्टिन तथा परीक्षण गर्नेः
कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको छिटो भन्दा छिटो पत्ता लगाई उनीहरुलाई छुट्टै एकान्तबासमा राख्न सकियो भने संक्रमणलाई फैलिनबाट रोक्न सकिन्छ । हाल प्रदेश सरकारको प्राबिधिक सहयोगमा सम्पूर्ण स्थानीय तहमा रहेका कन्ट्याक्ट ट्रेसिङ गर्ने स्वास्थ्यकर्मीहरुले सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने तथा उनीहरुलाई छुट्टै क्वारेन्टिनमा राखी परीक्षणमा सहयोग गर्दै आएका छन् ।

ख) कोरोनाको पिसिआर परीक्षणको विस्तारः
बागमती प्रदेशमा अखिकांश पिसिआर परीक्षण काठमाडौँ उपत्यका तथा संघीय सरकारको व्यवस्थापनमा भएको अवस्था भए पनि प्रदेश सरकारले पनि अन्य जिल्लाहरुमा समेत यसको विस्तार गर्ने रणनीति लिएको छ । प्रादेशिक अस्पतालहरु हेटौंडा, सिन्धुली, भक्तपुर र त्रिशुली प्रदेशको सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा परीक्षणको दायरा वृद्धि गर्न बजेट तथा उपकरणको आपूर्तिको कार्य प्रारम्भ भएको छ । कोभिडले सिर्जित विशेष परिस्थितिमा विद्यमान कानुनी व्यवस्थाअनुसार छिटो र प्रतिस्पर्धात्मक प्रक्रियाबाट गुणस्तरीय स्वास्थ्य उपकरण तथा आवश्यक टेस्ट किटहरु खरिद गरी नागरिकको कोरोना परीक्षण गरी समुदायमा कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्य पूरा गर्न समेत अगाडि बढेको छ । परीक्षणको लागि अस्पतालहरुमा आवश्यक प्राविधिक जनशक्तिका लागि कर्मचारीको व्यवस्थापनको योजना भएको छ ।

ग) सामान्य बिरामीको उपचारका लागि प्रादेशिक अस्पतालहरुमा आइसोलेसनको व्यवस्थापनः
सामान्य बिरामीको उपचार तथा घरमा आईसोलेसन सम्भव नहुनेका लागि सम्पूर्ण प्रादेशिक अस्पतालको व्यवस्थापनमा आईसोलेसन तयारी अवस्थामा रहेको छ । साथै प्रदेश सरकारले बिरामीहरु वृद्धि हुने प्रक्षेपण गरिएकोले भौतिक पूर्वाधार निर्माण तथा करिब एक हजार आईसोलेसन बेड थप गर्न आवश्यक बजेटको विनियोजन समेत गरिएको छ । स्थानीय तहहरुलाई आईसोलेसन व्यवस्थापनका लागि प्राबिधिक तथा बजेटको व्यवस्थापन गरिएको छ ।

घ) जटिल बिरामी व्यवस्थापनको लागि आइसीयु तथा भेन्टिलेटर सेवा विस्तारः
कोरोना संक्रमण बढ्दै जाँदा जटिल प्रकारको कोरोना बिरामीको पनि वृद्धि हुनसक्छ । जटिल बिरामीहरुको प्रभावकारी उपचारका लागि प्रादेशिक अस्पतालहरु हेटौंडा, भक्तपुर, सिन्धुली, धादिङ तथा त्रिशुलीमा पहिलोपटक आइसीयु तथा भेन्टिलेटर सेवा विस्तार गर्ने नीति अनुरुप प्रदेश सरकारबाट आवश्यक उपकरणहरुको व्यवस्थापन तथा आपूर्ति गरिएको छ । साथै, उक्त सेवा विस्तारका लागि थप जनशक्ति तथा तालिमका लागि आवश्यक बजेटको बिनियोजन गरिएको छ । निकट भविष्यमा प्रदेशको हेटौंडा तथा भक्तपुर अस्पतालमा कम्तिमा १० बेड तथा सिन्धुली, त्रिशुली र धादिङ अस्पतालमा कम्तिमा ५ बेडको आइसीयु सेवा विस्तार भई सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

ङ) व्यवहार परिवर्तन तथा जनचेतनाः
कोरोना वृद्धिसँगै भीडभाड नगर्ने, बाहिर जाँदा मास्कको प्रयोग गर्ने, हात धुने, मुख, नाकमा हात नलाग्ने, मानिसहरु बीच कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने जस्ता व्यवहार परिवर्तनले मात्र कोरोना बिरुद्धको लडाई जित्न सकिन्छ । मानिसहरुलाई उक्त व्यवहार परिवर्तन गर्न आवश्यक स्वास्थ्य सामग्री तयार गर्ने तथा सञ्चार माध्यमको समन्वयमा त्यसको प्रशारण गर्ने, मास्क प्रयोग तथा भौतिक दूरी कायम गर्न बाध्यात्मक व्यवस्था गर्न पैरवी गर्ने कार्य समेत सामाजिक विकास मन्त्रालय तथा मातहतका स्वास्थ्य कार्यालयहरुबाट भएका छन् ।

च) स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षाका सामग्री तथा निशूल्क औषधिको आपूर्तिः
कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई निर्धक्क रुपमा सेवा दिन व्यक्तिगत सुरक्षाका सामग्रीको आपूर्ति गर्नुपर्ने हुन्छ । मन्त्रालयले बिरामीहरुको उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीको उपलब्धता गराएको छ । त्यस्तै, आईसोलेसनमा रहेका बिरामीहरुका लागि आयुर्वेदिक औषधिको समेत व्यवस्थापन गर्न बजेटको सुनिश्चितता गरिएको छ ।

उपरोक्त क्रियाकलापहरुका अतिरिक्त संघीय तथा स्थानीय सरकारहरुसँग समन्वय, स्वास्थ्यकर्मीको उच्च मनोबल गराई परिचालन, कोरोनाको अतिरिक्त अन्य स्वास्थ्य सेवा समेत सँगसँगै उपलब्ध गराई कोरोना नियन्त्रणका कार्यहरु गरिएको छ । लकडाउन तथा निषेधाज्ञाको समयमा समेत कोरोना नियन्त्रणका लागि प्रदेश स्तरबाट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरुको संयन्त्र परिचालित छन् । उपरोक्त रणनीति तथा कार्यहरुबाट कोरोनाको एकैचोटी हुनसक्ने महामारीलाइ नियन्त्रण भएको छ तथा लामो समयसम्म पनि संक्रमण धेरै बढेको छैन भने संक्रमितहरुलाई आईसोलेसनमा राख्ने तथा आवश्यक उपचारको व्यवस्थापन गर्न सम्भव भएको छ ।

यद्यपि, कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सम्पूर्ण बिरामीको सम्पर्क पहिचान गर्ने तथा तिनीहरुको परीक्षण गर्ने कार्य जटिल बन्दै जान्छ । यस रोग नियन्त्रणका लागि कायम गर्नुपर्ने भौतिक दूरी तथा प्राकृतिक आईसोलेसनका लागि गरिएको लकडाउन वा निषेधाज्ञा प्रदेशले सधै गर्न सम्भव पनि छैन । यस्तो अवस्थामा अब राज्यको अतिरिक्त नागरिकहरु स्वयम् पनि आफ्नो स्वास्थ्यमा सजक भई यो रोग नियन्त्रण गर्न जिम्मेवार हुनुपर्छ । नागरिकहरुले चाडवाड मनाउँदा वा बाहिर बजार जाँदा भिडभाड नगर्ने, एक व्यक्तिले अर्को व्यक्ति बीच कम्तिमा २ मिटरको दूरी कायम गर्ने, बाहिर जाँदा मास्कको प्रयोग गर्ने, घरभित्र आउँदा साबुन पानीले हात धुने, अनावश्यक रुपमा हातले नाक, मुख नछुने जस्ता व्यवहारमा परिवर्तन गर्नैपर्छ । साथै, कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आइहालियो भने पनि परिवार र समाजलाई बचाउनको लागि छुट्टै क्वारेन्टिनमा बस्ने गरियो भने यो संक्रमण नियन्त्रणमा लिन सकिन्छ ।

(लेखक बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्देशक हुनहुुन्छ । साथै सामाजिक विकास मन्त्रालयअन्तर्गत कोभिड–१९ सम्बन्धी आपूर्ति व्यवस्थापन तथा प्राविधिक कार्यदलको सदस्य सचिव समेत हुनुहुन्छ ।)