विष्णुकुमारी लामिछाने अधिकृतस्तर नवौं हेटौंडा उपमहानगरपालिका

आज राष्ट्रिय बाल दिवस । ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदैछ । कोरोना कहरका कारण बाल दिवसमा औपचारिक कार्यक्रमको आयोजना हुन सकेको छैन । कोरोना कहरकै कारण विद्यालय जाने उमेरका बालबालिका विद्यालय जान नपाएको ६ महिना भन्दा बढी समय भइसकेको छ । अझै कति समय विद्यालय बाहिरै बस्न बाध्य हुनुपर्ने भन्ने अनिश्चित छ । बालबालिकाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा स्थानीय सरकारको रुपमा हेटौंडा उपमहानगरपालिकाले के कस्ता कार्य गर्दैछ भन्ने विषयमा समाज संवाददाता संगी लामाले हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेसँग गर्नुभएको कुराकानीः

समाजः हेटौंडा उपमहानगरपालिकाले बालबालिकाको पक्षमा के कस्ता कार्यहरु गरिरहेको छ ?
लामिछानेः हेटौंडा उपमहानगरपालिकाले बालअधिकारको विषयमा एउटा ऐन बनाएको छ । बालबालिका सम्बन्धी त्यो ऐनको मातहतमा रहेर निर्देशिकाहरु बनाइएको छ । त्यसमा हामीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थियौं । यद्यपी कोरोना सङ्क्रमण महामारीले गर्दा हाम्रो कार्यक्रमहरु सञ्चालन गर्न सकिएको छैन । बालमैत्री शासन प्रवद्र्धन गर्ने उद्देश्यले यो वर्षमा हामीले नीति बनायौं । ऐन र कानुन बनाइसकेपछि त्यसलाई कार्यान्वयन गर्न यो आर्थिक वर्षमा चाही कार्यक्रमहरु पनि त्यही हिसाबले राखिएका थिए । त्यो अहिले महामारीले गर्दा हामीहरुले कार्यक्रमहरु सञ्चालन गर्न सकेनौं । बालमैत्री स्थानीय शासन भनेर सबै बालबालिकाको सबैक्षेत्रमा जुन बालबालिकाका चार आयाम हुन ती चार आयाम बाल विकास, बाल सहभागिता, बाल बचाउ र बाल संरक्षण यी चार आयाममा रहेर हामीले कार्यक्रम सञ्चालन गर्ने गरी तयारी गरिएको छ । अब अवस्था सामान्य भइसकेपछि हामीले कार्यक्रम गर्नेछौं ।

समाजः कोरोना कहरका कारण बालबालिकाहरु लामो समयदेखि विद्यालय जान पाइरहेका छैनन् । बालबालिका विद्यालय जान नपाएको विषयमा उपमहानगरको ध्यान जान सकेको छैनन नि ?
लामिछानेः यो महिला तथा बालबालिका महाशाखाभन्दा पनि बढी यो शिक्षाको क्षेत्रका जुन शिक्षा विकास महाशाखा छ । उहाँले यसलाई निरन्तरता दिने विभिन्न समन्वयात्मक प्रयास सञ्चालन गरिरहेको छ । विद्यालयमा अहिले बालबालिकालाई पठाउने अवस्था छैन । किनभने कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । अहिले भन्दा १०० सयको हाराहारी आइसकेको छ । हाम्रो स्थानीय तहको कुरा हेर्‍यौं भने संक्रमण बढिरहेको अवस्था छ । यो सन्दर्भमा विद्याथीहरुलाई विद्यालयमा पठाउन अलि सम्भव नदेखिएकोले सामाजिक सञ्जालको माध्यमबाट अहिलेको विभिन्न जुमबाट पठनपाठनलाई निरन्तरता दिएको छ ।

समाजः बालअधिकारको सन्दर्भमा हेटौंडा उपमहानगरपालिकाको सवल र दुर्वल पक्षहरु के–के छन् ?
लामिछानेः सवल पक्षमा हामी स्थानीय तहले प्रयास गर्दैछौं ऐन, कार्यविधि, नियमावलीहरु बनाउँदैछौं । कार्यक्रमहरु पनि बालमैत्री स्थानीय शासन हिसाबले समग्र बालबालिकाको सबै क्षेत्रमा समावेश गरेर अगाडि बढाउँदै छौं । दूर्वल पक्षमा स्थानीय तहको आवधिक योजना छैन । रणनीतिक योजना हुनुपर्ने हो । अब समग्रमा अथवा क्षेत्रगत रुपमा चाहीँ बनाउनु पर्ने ती बनाउन सकेका छैनौं । ती बनाउन नसकिएको हुनाले लक्ष्यहरु निर्धारण गर्न नसक्दा अन्यौलमा छौं । तैपनि हामी कार्यक्रमहरु मार्फत सम्बोधन गर्ने गरी अगाडि बढ्दैछौं ।

समाजः बालअधिकारलाई स्थापित गर्न कुन–कुन पक्षको कस्तो भूमिका रहन्छ जस्तो लाग्छ ?
लामिछानेः बालअधिकारको प्रवर्धनका लागि त सबै पक्षको महत्वपूर्ण भूमिका हुन्छ । जसरी बच्चालाई एउटा जन्म दिने आमाले गर्भावस्थादेखि नै बच्चाको हेरविचारमा सुरु गर्नुपर्ने गर्भदेखि यी आमासम्मको कुरामा सबै जोडिन्छ । एउटा गर्भावस्थादेखि आमाले हेरविचार गर्नुपर्ने हुन्छ । उसको स्वास्थ्य आहारविहार, खानपानदेखि लिएर उसमा पर्ने नकारात्मक कुरामा सजक भएर अगाडि बढनु पर्ने हुन्छ । घरपरिवारसँग जोडिन्छ । परिवार भनेको पहिलो पाठशाला हो । परिवारले बालबालिकालाई जसरी हुर्काएको छ, त्यसरी नै भोलि विकासमा असर पर्ने भएकोले हुनाले परिवारको अत्याधिक महत्वपूर्ण भूमिका हुन्छ । त्यसमा चाही आमा सबैभन्दा पहिलो भूमिका हुन्छ । त्यसैगरी समाजको महत्वपूर्ण भूमिका हुन्छ ।

समाजमा भएका विकृतिहरु कुरीतिहरु विसंगतिहरु दूव्र्यवहारहरुबाट बचाउनका लागि समुदायको पनि भूमिका हुन्छ । बालबालिकालाई कस्तो खालको वातावरण दिने समुदायमा सामाजिकीकरण प्रक्रियामा कसरी अगाडि बढाउने भन्ने हिसाबले व्यक्ति, आमा, परिवार र समाजको भूमिका हुन्छ । त्यसैगरी संस्थागत संरचनाहरुको सरकारी निकायहरुको विभिन्न संघसंस्थाहरुको पनि सञ्चारकर्मीको पनि अहम् भूमिका हुन्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक हिसाबले बालबालिकाहरुको बालविकास, बालबचाउ, बाल संरक्षण र बाल सहभागिता अपनत्व गरेर त्यो हिसाबमा बालबालिकाहरुलाई अगाडि बढाउन सक्यो भने बालबालिकाको संरक्षण अथवा बालबालिकाको विकास राम्रो हुनसक्छ ।