सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । दुर्घटनाका घाइते या कुनै किसिमको स्वास्थ्य समस्या देखिँदा प्रारम्भिक अवस्थामा गरिने र घाइते या विरामीको आसपासमा भएका जो कसैले पनि प्राथमिक उपचार गर्न सक्ने अवस्था रहनु पर्दछ । प्राथमिक उपचारको उपलब्धताले घाइते या विरामीको स्वास्थ्य अवस्थामा थप जटिलता आउन नदिन महत्वपूर्ण मानिन्छ । प्राथमिक उपचारको विषयमा रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रियस्तरमै महत्वपूर्ण पैरवी गर्दै आएको छ । प्राथमिक उपचार दिवसकै सन्दर्भमा समाज संवाददाता सुसन लामिछानेले नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शँखाका मन्त्री खेमराज सापकोटासँग गरेको कुराकानीः

समाजः विश्व प्राथमिक उपचार दिवस मकवानपुरमा कसरी मनाउनुभयो ?
सापकोटाः सेप्टेम्बर १२ अर्थात सेप्टेम्बर महिनाको दोस्रो शनिबार प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । सन् १८५९ मा सलफिरेण्डमा जुन युद्ध भयो । त्यस युद्धमा हेनरी डियुना (जो रेडक्रसका संस्थापक हुनुहुन्थ्यो) व्यापारको सिलसिलामा त्यहाँ पुग्नुभएको थियो । त्यस युद्धमा घाइते सैनिकहरुको उहाँले कारुणिक अवस्था देख्नुभयो । त्यो देखेर उहाँले घाइते सैनिकहरुको उद्दारका लागि युवा स्वयम्सेवकहरु ल्याएर घाइतेहरुलाई प्राथमिक उपचार गर्ने, स्याहार गर्ने, शवहरुको व्यवस्थापन गर्ने र घाइते सैनिकहरुको परिवारलाई सूचना पुर्‍याउने लगायतको कामहरु सुरु गर्नुभएको इतिहासबाट विस्तारै रेडक्रस भावना जन्मियो र त्यहि सिलसिलामा यसको स्थापना भयो । अहिले मकवानपुर जिल्लामा प्राथमिक उपचारको पाठ्यक्रम जो छ । त्यो पाठ्यक्रम परिवर्तन भएको अवस्थामा रेडक्रसका प्राथमिक उपचारका प्रशिक्षकहरुलाई संलग्न गराएर परिवर्तित पाठ्यक्रमको बारेमा जानकारी गराएर प्राथमिक उपचार दिवस मनाइयो ।

समाजः रेडक्रस सोसाइटी मकवानपुर शाखाले अहिलेसम्म प्राथमिक उपचारसम्बन्धी के कस्ता कार्यक्रमहरु गरेको छ ?
सापकोटाः हामीले समुदायमा, विद्यालयमा प्राथमिक उपचारका कार्यक्रमहरु गर्छौं । प्राथमिक उपचारका प्रशिक्षकहरु उत्पादन गर्ने कार्यहरु गछौंं । प्राथमिक उपचारका स्वयम्सेवकहरु उत्पादन गर्ने काम गछौंं । हाम्रा जिल्लाभरका विभिन्न २७ वटा उपशाखाहरुमा हामीले प्राथमिक उपचारका कार्यक्रमहरु गरेका छौं । ट्राफिक प्रहरी, सवारी चालकहरु लगायतलाई पनि हामीले प्राथमिक उपचारका ज्ञान दिने गरेका छौं । ति व्यक्तिहरुलाई प्राथमिक उपचारको ज्ञान दिँदा राम्रोसँग विरामीलाई अस्पतालसम्म पुर्‍याउन टेवा पुग्छ । यि कार्यक्रमहरु रेडक्रसले निरन्तर गर्दै आइरहेको छ ।

समाजः कुनै पनि घटना भइसकेपछि प्राथमिक उपचार पहिलो हुन्छ र त्यसपछि अस्पताल लगिन्छ । यो प्राथमिक उपचारको तालिम सम्बन्धी विद्यालयस्तरको पाठ्यक्रममा समावेश छ ?
सापकोटाः सबै पाठ्यक्रममा समावेश छैन । तर प्राथमिक उपचार सम्बन्धी केही विषयबस्तु निम्न माध्यमिक स्तरको पाठ्यक्रममा समावेश छ । यो हाम्रो नेपाल रेडक्रस सोसाइटीले निर्माण गरेको जुन पाठ्यक्रम छ । यसमा विद्यालयस्तरको पाठ्यक्रममा राख्नु पर्ने छ । घटनामा घाइते भएपछि अस्पतालसम्म लैजाँदा बिचबाटोमा जुन किसिमको गतिविधिहरु गरिन्छ त्यसलाई नै हामी प्राथमिक उपचारको नाम दिन्छौं । त्यसमा विरामीले दक्ष चिकित्सकको सेवा नपाउन्जेलसम्म अवस्थालाई झन बिग्रन नदिन हामी स्वयम्सेवकहरु उत्पादन गर्छौ ।

समाजः मकवानपुर जिल्लामा प्राथमिक उपचारसम्बन्धी तालिम प्राप्त जनशक्ति कति छ ?
सापकोटाः अहिले हामीसँग १५ जना प्राथमिक उपचारका प्रशिक्षकहरु हुनुहुन्छ । धेरैले तालिम लिँदै जाँदै गर्छन् ।