आत्महत्या मानव सभ्यताको ठूलो समस्याको रुपमा बढ्दै गएको छ । मानिसले मृत्यु जस्तो दण्डका लागि आफैंलाई किन तयार गर्दछन् भन्ने विषयमा धेरै अड्कलहरु छन् । मानिसको स्वभाव र चरित्रका आधारमा फरक–फरक कारणले आत्महत्या जस्तो अप्राकृतिक मृत्यु वरण गरिरहेको हुन्छ । नेपालमा पनि यस्ता घटनाहरु प्रत्येक वर्ष ८ देखि १० प्रतिशतको दरले बृद्धि हुँदै गएको अनुसन्धानहरुले देखाएका छन् । आधुनिक समाजको विकाससँगै प्रविधि र सूचना प्रयोग बढ्दै जाँदा आत्महत्याका घटना पनि बृद्धि भएको पाइन्छ । जति विश्वसँग सम्बन्धित हुन्छ वा जानकारी लिन्छ त्यति नै मानिसको असन्तुष्टि बढ्ने र विभिन्न कारणले निराश हुँदै जान थालेपछि अन्तिममा आत्महत्या रोज्ने गरेको पाइन्छ । स्वभावगत रुपमा देखिने समस्या नै आत्महत्याका मुख्य कारण पर्दछन् ।
मानिस मर्नदेखि डराउँछ । रहरले कोही पनि मृत्यु रोज्न पुग्दैन । तर जब जीवनको सबै ढोकाहरु बन्द भएको अनुभूति गर्दछ तब उसले बाँच्नुको औचित्य देख्न छाड्छ र आत्महत्या गर्न पुग्दछ । आत्महत्या गर्नुमा धेरै कारण मध्ये ९० प्रतिशत मानसिक रोगलाई लिने गरिन्छ । तर त्यस्तो अवस्था किन आयो भन्ने पक्ष महत्वपूर्ण हो । कुलतमा लागेको, व्यवहार बिग्रीएको, पारिवारिक तनाव, अशान्ति, झैझगडा जस्ता कुराले क्षणिक आवेगमा यस्तो कठोर निर्णय गर्ने गरेको पाइन्छ । यस्तो अवस्थामा मानिसले केही फरक व्यवहार र बोलीचाली गर्ने गर्दछ । यस अवस्थालाई पहिल्याई सम्बन्धित व्यक्तिको परिवार वा आफन्तले होशियारी अपनाए गलत निर्णयको शिकार हुनबाट जो कोही पनि फर्कन सक्छ ।
नेपालमा पछिल्लो समय आत्महत्याका घटनाहरुमा बृद्धि भएको छ । विश्वव्यापी महामारी कोरोनाको सङ्कट र लकडाउन तथा निषेधाज्ञापछि आत्महत्याका घटना बढेका छन् । कोरोना कहर सुरु भएपछि नेपालमै तीन हजार बढीले आत्महत्या गरेको पाइन्छ । घटनाको बढोत्तरीमा कोरोना महामारी मुख्य कारण भए पनि यो समस्या नेपाली समाजमा दीर्घरोगकै रुपमा सर्दै आएको छ । पक्कै पनि कोरानाले निम्त्याएको सङ्कटको सामना गर्न नसकेर धेरै मानिसले मृत्यु रोजेका छन् । साथै अन्य कारणले पनि आत्महत्या भइरहेकै छन् । प्रहरीको अनुसन्धानात्मक तथ्याङ्कले पनि नेपालमा दैनिक १५ देखि १७ जनाले आत्महत्या गर्ने गरेका छन् । अहिलेको सङ्कटको मात्र तथ्याङ्कले यो सङ्ख्यामा बृद्धि भएको छ । रोग, भोक, शोकले गर्दा मानसिक रुपमा कमजोर बन्ने र व्यवहारमा हुँदै गएको बेथितीले आत्महत्याका घटना बढेको पाइन्छ ।
घटनाको तथ्याङ्क गन्ने भन्दा समस्या निराकरणका लागि ठोस अभियान आजको आवश्यकता हो । लकडाउनले लगातार घरमै बस्नु पर्ने कारण मानिसहरुमा निराशा पैदा हुँदा मानसिक समस्या श्रृजना हुने र त्यसले आत्महत्यासम्म पुर्याउने भन्दै मनोविज्ञहरुले होशियारी अपनाउन सुझाव दिएका छन् । कोरोनाको उपचारसँगै मनोवैज्ञानिक उपचार र परामर्शका लागि विशेष योजना आवश्यक भएको छ । सङ्कटमा सबै उमेर समूहका मानिस प्रभावित हुन सक्छन् । सबै उमेर समूहमा देखिने समस्यालाई समयमै समाधान नगर्ने हो भने आत्महत्याको दर थप बढ्ने खतरा छ । निराश भएको मानिसलाई खाने औषधी भन्दा आफन्तको विश्वासिलो साथ आवश्यक हुन्छ । आत्महत्या बहुआयमिक समस्या भएकोले समाधानमा पनि सबै पक्षको सहभागिता जरुरी छ । सरकारी–गैरसरकारी निकायदेखि परिवार र समाजका सबै सदस्यको सचेततापूर्वक होशियारीले मात्र आत्महत्याका घटनामा न्यूनीकरण गर्न सकिन्छ ।