आज भदौ १७ गते बुधबार असोज कृष्णपक्षको प्रतिपदा तिथि, अर्थात आजबाट सोह्रश्राद्ध सुरु भएको छ । वर्षकै प्रमुख चाडपर्वको ठीक अघि दिवंगत पितृलाई समेत स्मरण गर्ने धार्मिक परम्पराको रुपमा सोह्रश्राद्ध महत्वपूर्ण मानिन्छ । सोह्रश्राद्ध सुरु हुँदै गर्दा कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमै मानवीय गतिविधि सहज छैन । यस्तो पृष्ठभूमिमा आजबाट सुरु हुँदै गरेको सोह्रश्राद्धको मूल्य–मान्यता र यो अवस्थामा कसरी सोह्रश्राद्ध गर्ने भन्ने लगायतका विषयमा रहेर संगी लामाले ज्योतिष पण्डित तोयानाथ सुवेदीसँग गर्नुभएको कुराकानीः
समाजः आजबाट सोह्रश्राद्ध आरम्भ हुँदैछ । हिन्दु संस्कारमा सोह्रश्राद्धको महत्व के छ ?
सुवेदीः सोह्रश्राद्धले पितृहरुसँग अन्तरसम्बन्ध राख्छ । पितृहरुसँग मानिसहरुको सम्बन्ध भएकोले यो सोह्र दिन असोज कृष्ण पक्षको प्रतिपदा तिथिदेखि लिएर औंसी तिथिसम्म मनाइने भएकाले सोह्रश्राद्ध भनिन्छ । यसमा मावलापट्टिको हजुरबुबा, हजुरआमाको तिथि पनि घटस्थापनामा पर्ने हुन्छ । मृत्यु भइसकेका माता–पिताहरुसँग यो स्रोह्रश्राद्धले सम्बन्ध राख्छ ।
समाजः सोह्रश्राद्ध गर्दा के हुन्छ, नगर्दा के हुन्छ, यसको वैदिक मान्यता के छ ?
सुवेदीः यसको विशेष मान्यता आफ्ना दिवंगत पितृहरुप्रति श्रद्धाभाव हो । जसरी सूर्य कन्या राशीमा गइसके पनि श्राद्ध गर्दैन भने आफ्ना पितृहरु भड्किने गर्दछन् र ति पितृहरुको धन, पुत्र क्षय पनि हुने गर्दछ । उनिहरुप्रति पितृहरुको श्रद्धाभाव रहने छैन । त्यसैले पितृहरुसँगको उद्दारका लागि पनि श्राद्ध गरिन्छ ।
समाजः हाल कोरोना महामारीको समय छ । यो अवस्थामा सोह्रश्राद्ध भर्चुअल माध्यमबाट पनि गर्न सकिन्छ भन्ने विषय उठेको छ । के यो सम्भव छ ?
सुवेदीः अनलाइनबाट विशेष रुपमा श्रव्यदृश्य श्राद्ध हुन्छ । श्रद्धापूर्वक गरिने भएकोले श्राद्ध हो । अहिले टेक्नोलोजीको जमाना हो । प्रविधिबाटै गर्दा पनि हुन्छ हुन चै तर सबैले प्रविधिको प्रयोग जानेका हुँदैनन् । यो अवस्थामा अनलाइन माध्यम सम्भव पनि छ र यस्तो अवस्था नहुँदो हो भने यस्ता कैयौं विधि छन् जसमा श्राद्ध गर्ने र गराउने उपस्थित हुन जरुरी रहेको छ ।
समाजः सोह्रश्राद्ध छोरा—छोरी दुबैले गर्छन् या छोराले मात्र गर्ने हो ?
सुवेदीः विशेष रुपमा श्रद्धापूर्वक गरिने कार्य हो । यसमा छोराका लागि पनि पितृ नै हो छोरीका लागि पनि । पहिले छोराले नै गर्ने चलन थियो तर हाल काजकिरियाहरु पनि छोरीले गर्ने थालिसकेका छन् । त्यसैले यसमा रोक छैन दुबैले गर्दा हुन्छ ।
समाजः यो वर्षको सोह्रश्राद्ध कसरी गर्नु भनेर सुझाव दिनु हुन्छ ?
सुवेदीः अनुकुल भएमा भर्चुअल विधिबाट गर्दा पनि हुन्छ । अनुकुल नभएमा अहिले गर्न सकिएन भने विभिन्न किसिमका मूल्य, मान्यताहरु रहेका छन् । यो विषम् परिस्थितिमा गर्न सकिएन भने गाइतिहारे औंसीसम्म अष्ठमी तिथि, द्वादशी तिथि अथवा एकादशी तिथि पारेर गर्न सकिने मान्यता रहेको छ ।