नेपाल रेडक्रस सोसाईटीले आम नागरिकहरुलाई रक्तदानका लागि आव्हान गरेको छ । लगातारको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसक्दा रक्तसञ्चार केन्द्रहरुमा रगतको अभाव हुन सक्ने जानकारी दिएको छ । विभिन्न घटनामा परेका तथा विरामीहरुलाई रगत दिनु पर्ने अवस्था हुन्छ । तर अहिले मौज्दातमा रगत कम भएको छ । कोरोना महामारी भन्दा पनि रगतको अभाव झन ठूलो संकट हो । त्यसैले त्यस्तो अवस्था आउन नदिन पूर्वतयारी र खबरदारी सोसाईटीले गरेको छ । देशका सबैजसो जिल्लाहरुमा बन्दाबन्दी र निषेधाज्ञा लागू भएकाले रक्तदानका कार्यक्रमहरु पनि प्रभावित भएका छन् । कोरोनाको डरले पनि मानिसहरु रगत दिन जान समेत सकेको अवस्था छैन ।

जसलाई रगत आवश्यक छ उसैले व्यवस्था गर्नुपर्ने अवस्था बनेको छ । रक्तसञ्चार केन्द्रमा रगतका लागि जाँदा एकजना सँगै दाता पनि लैजानुपर्ने अवस्था छ । सोधभर्ना नगरी केन्द्रहरुले रगत दिन बन्द गरेका छन् । यदि सम्पर्क भएका मानिसहरुले त आफन्तहरुसँग गुहार माग्लान्, तर नयाँ मानिसका लागि कसले रगत दिने ? त्यस माथि कोभिडको महामारी भईरहेको अवस्थामा रक्तसञ्चार केन्द्रसम्म पुग्नदेखि रगत दिएपछि फेरी सङ्क्रमण भएमा भन्ने अनेक प्रश्नको उत्तर खोज्दा मानिस तयार हुन नै मुस्किल बन्दै गएको छ । यसका लागि सामाजिक संघ, संस्थाहरुले अगुवाई गरेर पुराना दाताहरुलाई रक्तसञ्चार केन्द्रमा गएर दान गर्न प्रेरित गर्न आवश्यक छ ।

दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुती, मुटु, क्यान्सर तथा मिर्गौलाका विरामी, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई तत्काल रगत दिनुपर्ने हुनसक्छ । त्यसको तयारीका लागि पहिला नै रगतको व्यवस्थापन गर्नु अत्यन्त जरुरी हो । देशका विभिन्न सहरहरुमा रगतको माग भइरहेको अवस्था छ । यसका लागि रक्तदाता, संघ, संस्था र रेडक्रसका निकायहरुले मानिसहरुलाई व्यक्तिगत रुपमा नै सम्पर्क राखेर रक्तदान गराउन आवश्यक भएको छ । बन्दाबन्दीका कारण दाताहरुलाई केन्द्रसम्म आउन जान अप्ठेरो भए स्थानीय प्रशासनले सहजीकरण गरिदिनु पर्दछ । तर रगतको अभाव हुन दिनु हुँदैन । कुनै पनि समय जो सुकैलाई रगत आवश्यक पर्ने भएकाले मौज्दातमा रगत अभाव हुन दिनु हुँदैन । त्यसैले रेडक्रस सोसाईटीको आव्हानपछि केही दाताहरु स्वतः केन्द्रमा पुगेर रगत दिन थालेका घटना पनि छन् ।

हेटौंडामा पनि रगतको अभाव भएको रक्तसञ्चार केन्द्र हेटौंडाले बताउँदै आएको छ । उसले रगत दिनका लागि नगरवासीसँग आव्हान समेत गरेको छ । केन्द्रको आव्हानपछि हेटौंडामा केही युवाहरुले रक्तदान गरेका छन् भने केही संस्थाहरुले कार्यक्रमको आयोजना गरेको अवस्था छ । कोरोनाको चुनौतीलाई सामना गर्दै रक्तदान कार्यक्रमहरु अभियानकै रुपमा सञ्चालन गर्न आवश्यक देखिएको छ । केन्द्रको आव्हानपछि लियो क्लब अफ हेटौंडा र पुष्पलाल मित्रता केन्द्रले रक्तदानको आयोजना नै गरेका छन् । दुई दिनका बीच हेटौंडामा ८२ जनाले रगत दिएको पाईन्छ । यस्तै अन्य कार्यक्रम भएमा हिजोका दाता मध्ये धेरैले रगत दान गर्ने छन् । यसका लागि संस्थाहरुले सहजीकरण गरिदिनु आवश्यक छ । रगतको आपूर्ति मिलाई राख्ने जिम्मेवारी कुनै एक संस्थाको मात्र नभई सबै नागरिकको जिम्मेवारी हो ।