हेटौंडाः मकवानपुरका सबै स्थानीय तहहरु आइसोलेसन वार्डको तयारीमा जुटेका छन् । पछिल्लो समय कोरोनाको सङ्क्रमण दर जिल्लामा बढ्दै गएपछि स्थानीय तहहरु आइसोलेसन वार्डको तयारीमा जुट्नुपरेको हो । हेटौंडा अस्पतालले सञ्चालन गर्दै आएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डमा बेड भरिएपछि धेरै कोरोना सङ्क्रमितहरु घरमै बस्नुपरेको थियो । यद्यपि अहिले गौरिटारमा थप १ सय २० बेडको आइसोलसन बेड तयार भएपनि जिल्लामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएकोले मकवानपुरका सबै स्थानीय तहहरुले छुट्टै आइसोलसनको तयारी गरिरहेको छन् ।
मकवापनुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाले १५ बेडसम्मको आइसोलेसन बेड सञ्चालन गर्न स्थान खोजी गरिरहेको थाहा नगरका मेयर लवशेर विष्टले बताउनुभएको छ । हेटौंडामा आइसोलेसन बेड भरिएभने थाहामै सङ्क्रमितलाई व्यवस्थापन हुनेगरी आइसोलेसन वार्ड सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । भीमफेदी गाउँपालिकाले पनि पूर्वतयारी अनुरुप १० बेडको आइसोलेसन वार्ड सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । उहाँका अनुसार अहिले भीमफेदीको क्वारेन्टिन रहेको महेन्द्र माविमा आइसोलेसन वार्ड र नजिकैको अर्को निजी विद्यालय क्वारेन्टिन सञ्चालन गर्ने योजना छ ।
भोलिका दिनमा कोरोना अस्वभाविक रुपमा बढेभने सहजै व्यवस्थापन गर्न स्थानीय सरकार तयारी अवस्थामा रहनुपर्ने अध्यक्ष लामाको भनाइ छ । हालसम्म भीमफेदी गाउँपालिकामा १० जनामा कोरोनाको सङ्क्रमण पाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाम थिङ्ले बताउनुभयो । उहाँका अनुसार भीमफेदीमा पर्याप्त जनशक्ति र स्वास्थ्य मापदण्ड पूरा हुने भएकोले आइसोलेसन वार्ड सञ्चालनमा ल्याइने भएको हो । अहिले भीमफेदीका ३ जना सङ्क्रमित होम आइसोलेसन तथा ५ जना हेटौंडाको आइसोलसनमा उपचाररत छन् । त्यस्तै २ जना निको भइसकेको अवस्था छ ।
मकवानपुरको मनहरी गाउँपालिकाले पनि २० बेडको आइसोलेसन वार्डको व्यवस्थापन गरेको छ । हेटौंडाको आइसोलेसन बेड भरिएपनि मनहरीको बासिन्दालाई मनहरी गाउँपालिकामै व्यवस्थापन गर्न सक्नेगरी आइसोलेसन वार्ड तयार भएको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुइटेलले बताउनुभयो ।
मकवानपुरको पूर्वि क्षेत्रस्थित बकैया गाउँपालिकाले पनि विद्यालयबाट क्वारेन्टिन हटाएर २ वटा स्वास्थ्य चौकीमा आइसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । हेटौंडामा कोरोना सङ्क्रमितलाई व्यवस्थापन हुन नसकेको अवस्थामा गाउँपालिकाले व्यवस्थापन गर्ने गरी आइसोलेसन वार्ड सञ्चालनमा आउने गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो । त्यस्तै बाग्मती गाउँपालिकाले पनि आइसोलेसन वार्डको व्यवस्थापन गर्न स्थान खोजी कार्य अगाडि बढाएको छ । गाउँपालिकाका अध्यक्ष सर्केश घलानका अनुसार पहिलो चरणमा १० बेडको आइसोलेसन वार्ड तयार गर्ने र पछि आवश्यकताअनुसार थप गर्दै लैजाने योजना रहेको छ ।
मकवानपुरमा अहिले हेटौंडा अस्पतालले २ स्थानमा आइसोलेसन वार्ड सञ्चालन गर्दै आएको छ । हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले सबै स्थानीय तहहरुले आइसोलसनका पूर्व तयारी गर्नु राम्रो कार्य रहेको बताउनुभएको छ । भोलिका दिनमा कोरोना सङ्क्रमण बढ्दै गएको खण्डमा सबैलाई व्यवस्थापन गर्न चुनौती हुने भन्दै सबै तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । एक साताअघि मात्रै हेटौंडा–४, कर्राको श्रमिक माविको आइसोलसन वार्ड भरिएपछि कोरोना सङ्क्रमितहरु होम आइसोलेसनमा बस्नुपरेको थियो । अहिले गौरिटारमा आइसोलसन वार्ड सञ्चालन गरिएपनि सबै व्यस्थापन एकैपटक हुन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार हेटौंडाको आइसोलेसन वार्डमा सङ्क्रमितहरुको व्यवस्थापन हुन नसकेमात्र गाउँपालिकाको आइसोलेसनमा सङ्क्रमितलाई राखिने बताउनुभयो ।