थाहा नगरपालिकाका मेयर लवशेर विष्ट

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको छ । पछिल्लो समय मकवानपुर जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको छ । मकवानपुरको थाहा नगरपालिकामा कोरोनाको अवस्था र रोकथामका लागि भइरहेका कार्यहरु र आगामी योजनाहरु लगायतका विषयमा रहेर समाज संवाददाता रामनाथ कुँवरले थाहा नगरपालिकाका मेयर लवशेर विष्टसँग गर्नुभएको कुराकानीः

समाजः थाहा नगरपालिकामा कोरोना सङ्क्रमणको पछिल्लो अवस्था कस्तो रहेको छ ?
विष्टः थाहा नगरपालिका काठमाडौं र हेटौंडाको लगभग केन्द्रमा पर्छ । त्रिभुवन राजपथ पनि थाहा नगर हुँदै जान्छ । त्यसैले हेटौंडाबाट अर्थात काठमाडौंबाट आउनेहरु पनि यहाँ खाने, बस्ने गरेर जाने हुनाले सङ्क्रमण फैलने डर भएको छ । त्यसो हुनाले हामीले सबै होटललाई सचेत पनि गराएका छौं र उहाँहरुले पनि केहि दिनका लागि होटल बन्द गरेर सहयोग गरिरहनुभएको छ । हाम्रोमा हालसम्म ७ जना सङ्क्रमित देखिनु भएको छ । उहाँहरु सबैजना उपचार भएर घर फर्किसक्नु भएको छ । दुई जना आइसोलेसनमा उपचाररत हुनुहुन्छ । नगरमा हाल क्वारेन्टिनमा भने २० जना रहनुभएको छ ।

समाजः अब कोरोना सङ्क्रमितहरु थपिए भने कहाँ राख्ने, कसरी राख्ने व्यवस्था मिलाउनुभएको छ ?
विष्टः यो एकदमै काहाली लाग्दो अवस्था रहेको छ । अस्ति मात्रै हेटौंडामा ३७ जना थपिएकै दिन हाम्रो नगरका पनि दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसअगाडि हेटौंडामा रहेको आइसोलेसनमा पठाउने गरिएको थियो । त्यस दिन त्यहाँको आइसोलेसन बेड भरिएपछि हामीलाई एकदमै असजिलो भयो । होम आइसोलेसनका लागि सिफारीस गर्न पनि उहाँहरुको घर त्यो अवस्थाको पनि थिएन र एकजना त भारतको मोतिहारीबाट आएका नागरिक हुनुहुन्थ्यो । उहाँलाई कतै पठाउने अवस्था पनि भएन । यस्ता समस्या हुने हुनाले तीनै तहका सरकारले कुन सरकारले के काम गर्ने भनेर यकिन हुनु पर्‍यो । त्यसरी व्यवस्थित भएर अगाडि बढ्ने हो भने हामी कोरोनालाई जित्न सक्छौं जस्तो मलाई लाग्छ । हामीले अहिले यो अन्योलको अवस्थामा होटल व्यवसायीलाई तपाईहरुले हामीलाई आइसोलेसनका लागि सहयोग गर्नु पर्‍यो भनेर कुरा राख्दा पानोरमा रिसोर्टले आइसोलेसन वार्ड बनाउन दिने जनाएको छ । पानोरमामा १० कोठा भएको भवन हामीलाई प्रदान गर्न इच्छा देखाएको छ । त्यस्तै हामी १५ बेडको आइसोलेसन कहाँ बनाउने भनेर स्थानको खोजीमा जुटेका छौं ।

समाजः थाहा नगरपालिका पर्यटकीयस्थल भएको हुनाले यो कोरोनाको अवस्थामा पर्यटनको गतिविधिलाई कसरी अगाडि लैजाने योजना बनाउनुभएको छ ?
विष्टः गत चैतदेखि यता पर्यटनको गतिविधि लगभग ठप्पै भएको छ । बीचमा साउन ७ गते सरकारले लकडाउन सकिएको घोषणा गरेपछि केही पर्यटकहरु आउने गरेका थिए । त्यसपछि जिल्लामा सामुदायस्तरमा फैलन थालेपछि ठप्प भएको छ ।

समाजः थाहा नगरपालिकामा कोरोना महामारीको खतरा कत्तिको बढने सङ्केत पाउनुभएको छ ?
विष्टः थाहा नगरपालिका एकदमै उच्च जोखिममा रहेको छ । हामीले कन्ट्याक्क ट्रेसिङबाट पनि सर्ने खतरा भएको छ । नगरपालिकाले गर्नुपर्ने कार्यहरु गरिरहे पनि यो नदेखिने रोग भएकोले र आवतजावतलाई सधैं ठप्प गर्न नसकिने भएकोले मान्छेहरुलाइ अस्पताल जाँदा पनि सर्ने भएको छ । त्यसैले ढुक्क छौं भन्ने अवस्था छैन, हामी उच्च जोखिममा रहेका छौं ।

समाजः कोरोना विरुद्ध लड्न तपाईहरुसँग भएका प्राविधिकसहित स्वास्थ्यकर्मीहरु कत्तिको तालिम प्राप्त हुनुहुन्छ ।
विष्टः कोरोनाका लागि नै छुट्टै तालिम त भएको छैन तर उहाँहरुलाई सरुवा रोग सम्बन्धी ज्ञान भएकोले मेडिकल अफिसरहरुले एकदमै ज्यान दिएर लागी परिराख्नु भएको छ । उहाँहरुले स्वाबहरु लिन जाने, होम क्वारेन्टिनका निम्ती परामर्श गर्ने लगायतका कुनै पनि कुरामा जुनसुकै समयमा पनि तम्तयार भएर काम गरिरहनुभएको छ ।

समाजः कोरोना सङ्क्रमित थाहा पाउन नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्य कसरी भइरहेको छ ?
विष्टः यस विषयमा म एउटा उदाहरण दिन्छु । हामीले हाल २ जना सङ्क्रमितलाई हेटौंडाको आइसोलेसनमा पठाएका छौं । ती मध्ये एकजना सङ्क्रमित व्यक्ति भारतको मोतिहारीबाट आएर हेटौंडाबाट पालुङको बसमा आएको रहेछ । उसको कोरोना पोजेटिभ रिपोर्ट आएपछि हामीलाई कन्ट्याक्क ट्रेसिङको ठूलो समस्या भयो । हामीले उ आएको बसको टिकट काउन्टरबाट उ गएको बसको टिकटको लिस्ट माग्यौं, त्यो टिकट लिस्ट माग्दा नाम लेखेर थर नलेखी ठाउँ लेखेको टिकट पाइयो । त्यसो हुँदा हामीले काउन्टरवालाहरुलाई तपाइहरुले टिकट काट्दा पुरै नाम स्पष्ट ठेगाना खुल्नेगरी र मिलेसम्म मोवाइल नम्बर पनि राखेर टिकट काट्न पत्राचार पनि गर्‍यौं । त्यसपछि हामीले त्यो बसको ड्राइभर, कण्डक्टर सबैलाई होम क्वारेन्टिनका लागि सिफारीस गरेका छौं । बाँकी यात्रुलाई पनि होम क्वारेन्टिनमा बस्न भनेका छौं । त्यस्तै पहिचान नखुलेकाहरुलाई हामीले वडाबाट सूचना जारी गरेर सो बसमा चढ्नेहरुले होम क्वारेन्टिनमा बस्न भन्दै स्वाब सङ्कलनको कार्य गरिरहेका छौं ।