हेटौंडाः बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज दिउँसो हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार मकवानपुरमा उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

तामाङको ३ दिनअघि स्वाब लिइएको थियो । सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आईसोलेशनमा रहनुभएको उहाँको स्वकीय सचीव एलिशा थापाले जानकारी दिनुभयो । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उहाँले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको थापाले बताउनुभयो । उहाँलाई सामन्य रुघाखोकी देखापरे पनि केहि समस्या नभएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।