हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले आउँदो १४ औं महाधिवेशनको तयारी सुरु गरेको छ । पार्टीको विधान अनुरुप महाधिवेशनको तयारी भैरहेको कांग्रेस मकवानपुरका नेताहरुले जानकारी दिएका छन् । नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापती विष्णु प्रसाद लामिछानेले पार्टीको निर्देशिका, नियमावली र विधान अनुसार आउदो महाधिवेशनको तयारी गरिरहेको जानकारी दिनुभयो ।
नेपाली कांगे्रसले आउदो पुस ६ गतेबाट वडास्तरबाट अधिवेशन सुरु गरेर फागुन ७ देखि ९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ । त्यस्तै पुस ८ गते पालिकाहरुको अधिवेशन, पुस ११ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, पुस १३ गते एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएकोमा, एक भन्दा बढि प्रतिनिधि सभा निर्वाचन क्षत्र भएकोमा पुस १६ गते अधिवेशन गर्ने तयारी नेपाली कांगे्रसले गरिरहेको जिल्ला सह-सचिव रामबाबु बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार माघ ६ गते बागमती प्रदेश अधिवेशन हुने तय गरिएको छ । अवस्था सामान्य रहेमा तोकिएकै मितिमा अधिवेशन गरिने तयारी पार्टीले गरिरहेको सह-सचिव बानियाँले बताउनुभयो ।
महाधिवेशनकै तयारी स्वरुप पार्टीले अहिले पुरानो सक्रिय सदस्यता रहेकाहरुको सदस्यता नवीकरण गर्ने कार्य भैरहेको नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापती विष्णु प्रसाद लामिछानेले बताउनुभयो । उहाका अनुसार नवीकरणको काम सकिएपछि छिटै नयासक्रिय सदस्यता वितरण पनि सुरु गरिने जानकारी दिनुभएको छ । उहाले हाल जिल्लाको एक सय दुई वटै वडाहरुमा सक्रिय सदस्यता नवीकरणको फारम पुगिसकेर प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । मकवानपुर जिल्ला कार्यवाहक सभापति लामिछानेले आफ्नो संयोजकत्वमा ७ सदस्यीय तयारी समिति गठन गरेर तयारीको कार्य भैरहेको जानकारी दिनुभयो । पुरानो सक्रिय सदस्यहरुको नवीकरण गरिनुका साथै पार्टीको विधान अनुरुप कुनै गुट-उपगुटको झमेला नगरिकनै व्यक्ति-व्यक्तिको सक्रियतालाई हेरेर नया सक्रिय सदस्य छनोट गरिने उहाको भनाइ रहेको छ ।नेपाली कांगे्रस पार्टी कार्यकर्ता इन्दिरा लुइटेलले नेपाली कांग्रेसले पार्टीको जुनसुकै तहमा पनि महिलालाई ३३ प्रतिशत सहभागिता गरेर अगाडि बढ्ने तयारी गरेको बताउनुभयो । उहाले नेपाली कांगे्रसको अरु पार्टीको भन्दा पृथक विचार र सिद्धान्त भएको दावी गर्नुभयो ।