हेटौंडाः मकवानपुर जिल्लामा रहेका ४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहानको रिपोर्टमा दुईजनामा संक्रमण पुष्टि भएको थियो भने साँझको रिपोर्टमा दुईजनामा संक्रमण पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
आज बिहान प्राप्त रिपोर्टअनुसार मकवानपुरगढी गाउँपालिका–५ का ७० वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका–९ की ४६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो भने साँझ प्राप्त रिपोर्टअनुसार हेटौंडा–२ बस्ने २२ वर्षीय पुरुष र बारा जिल्लाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पहिलो कोरोना संक्रमित पहिचान भएको छ ।
हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका प्रमुख डा. अर्जुन खड्काका अनुसार हिजो मंगलबार पठाइएको कुल ३५ वटा स्वाबको नमूना मध्येबाटै आज बिहान दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज बिहान कोरोना संक्रमण पुष्टि भएका दुवै जनालाई आइसोलेसनमा ल्याइएको छ भने थप दुईजनालाई पनि आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।