प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामा प्रमुख, बागमती प्रदेश प्रहरी कार्यालय

बागमती प्रदेश प्रहरीको प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) बसन्तकुमार लामाले जिम्मेवारी सम्हाल्नु भएको ३ महिना भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रहरीको भूमिका र ध्यान मुख्यतः कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यून गर्न सरकारको योजनामा सहयोग गर्नतर्फ बढी केन्द्रित छ । यसैबीचमा डिआइजी लामाले भने प्रहरी संगठनभित्रको भ्रष्टाचारलाई न्यूनीकरण गर्न मातहतका प्रहरीलाई दण्ड र पुरस्कारको रणनीति कार्यान्वयन गरिरहनुभएको छ । सर्वसाधारणसग रकम असुली गर्ने प्रहरी र प्रहरीलाई पैसाको प्रलोभन देखाउने नागरिक दुबै कारवाहीमा परिरहेका छन् । प्रदेश प्रहरी प्रमुख डिआइजी लामासग प्रहरी भित्रको भ्रष्टाचार र यसविरुद्ध प्रदेश प्रहरीको प्रयासकै विषयमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः प्रहरी संगठनभित्रको भ्रष्टाचार न्युनीकरणको मुद्दा तपाई सरुवा भएर आउदाको सुरुवाती लोकप्रियताको विषय मात्रै हो या यो दीगो मुद्दा हो ?
लामाः यो निरन्तर चलिरहने कुरा हो । चर्चा पाउनका लागि उठाएको विषय होइन । प्रहरीले दिएको जिम्मेवारीहरु सफलतापूर्वक सम्पन्न गर्ने हो भने कार्य सम्पादन गर्ने व्यक्ति दुरुस्त इमानदार हुनु पर्छ । आफु ठिक भए मात्र पाएको जिम्मेवारीहरु राम्रो तरिकाले पुरा हुदै जान्छ । बागमती प्रदेश प्रहरी कार्यालयमा भर्खर आएको छु । यो ३ महिनाको अवधिमै मैले धेरै कुराहरुलाई अगाडि सारेको छु । यसरी सिस्टम बसेपछि राम्रो हुदै जाने अपेक्षा गरेको छु ।

समाजः तपाईले पुरस्कार र दण्डको जुन अभियान ल्याउनुभएको छ । यसले तल्लो तहसम्म साना-साना कुराहरु पनि धेरै रहेको देखिएको छ । यसले प्रहरी संगठनभित्र निक्कै समस्या रहेछ भन्ने पुष्टि गरेको हो ?
लामाः कार्वाही प्रक्रिया अगाडि बढाउदै गर्दा समस्या एकदमै जटिल छ भन्ने रुपमा हेर्नु हुदैन । प्रहरी संगठनमा अहिले करिव ८० हजार आवद्ध छौं । यसमध्येमा केही प्रहरीहरु आफ्नो स्वार्थमा लागिरहेका छन् । हामीले त्यो प्रवृतिका मान्छेहरुलाई पहिचान गर्ने सन्दर्भमा केही व्यक्तिहरु फेला परेका हुन तर धेरै प्रहरीहरु इमानदार छन् । आफ्नो कर्तव्य निभाएका छन् ।

समाजः प्रहरीमा भ्रष्टाचारका घटनाहरु कसरी बढ्दै गएको हो ?
लामाः स्वार्थ कै कारण बढेको हो । प्रहरीले सुरुमा सेवा सुरु गर्दा सपथ खाएर सुरु गरेको हुन्छ । उसले म इमानदारपूर्वक राष्ट्रका लागि काम गर्दछु भनेर आएका हुन्छन् । त्यही अनुसार तालिम तथा अन्य प्रशिक्षणहरुमा हामीले त्यसरी नै भनिरहेको हुन्छ । यसो हुँदा हुदै पनि कतिपय व्यक्तिगत लोभ लालच जस्तो कुराले गर्दा संगठनको कार्यसम्पादनमा नै असर पुग्छ । सुख र सम्पन्नताको इच्छाले गर्दा पनि यस्तो हुन्छ तर सर्वसाधारणले पनि म कानून विपरितको काम गर्दिन । म घुस दिन्न भनेर अगाडि बढ्नु पर्छ । त्यसैले अहिले हामीले दिने सर्वसाधारण र लिने प्रहरीलाई पनि कार्वाहीमा ल्याएका छौं ।

समाजः प्रदेशको नेतृत्व गरिरहँदा तपाईले मातहतका युनिटका कमाण्डरलाई हेर्ने गरी कस्तो रणनीति बनाउनुभएको छ ?
लामाः म बागमती प्रदेश प्रहरीको कमान्डर हुँ । मेरो जिम्मेवारी, दायित्व बागमती प्रदेश भित्रका सम्पूर्ण प्रहरी कर्माचारीहरु चुस्त, दुरुस्त, इमानदार र आफ्नो दायित्व पूरा गर्ने हो । त्यो हेर्ने काम समग्रमा मेरो हो । मैले कार्वाही सुरु गर्दा विभिन्न जिल्लाका परेका छन् । मैले ति जिल्लाहरुका कमान्डरलाई स्पष्टिकरण मागेको छु । त्यसमा कि कमाण्डरले अनुगमन निगरानीमा कमि भयो या मिलेर काम गर्‍यौ ? यसरी मैले तापाईहरुको मातहतका प्रहरीले फेरी यस्तै कार्य गरेका पाएमा तपाईहरु पनि सजाय पाउन बाध्य हुनेछौं भनेर अगाडि बढेको छ । नागरिकको सूचना बिना हामी केही गर्न सक्दैनौं । त्यसैले कुनै अफिसर लेभलको प्रहरीले आचरण विरुद्ध कुनै काम गरिरहेको छ भने त्यस्तो सूचना हामीलाई प्राप्त हुनु पर्छ । नागरिकको सूचनाको गोपनियता म गर्छु तर मलाई सूचना दिनु पर्‍यो ।

समाजः नागरिकले तपाईहरुलाई कसरी सूचना दिन सक्छन् ?
लामाः अहिले प्रदेश प्रहरी कार्यालयका नम्बरहरु पनि छन् । मेरो व्यक्तिगत नम्बर ९८५५०८४४४४ मा पनि सूचना दिन सकिन्छ । त्यस्तै प्रदेश प्रहरी कार्यालयको वेभसाइटहरु पनि छन्, इ-मेल ठेगानाहरु पनि छन् । ति माध्यममार्फत तपाईहरुले सूचना दिन सक्नुहुन्छ । अहिले हाम्रो प्रदेश प्रहरी कार्यालयमा गुनासो सुन्ने अधिकृतहरु पनि छन् । त्यसको हामीले थालनी गरेका छौं । यस्ता कुनै न कुनै माध्यमबाट मलाई अथवा प्रदेश प्रहरी कार्यालयका कुनै अफिसरलाई सूचना पुर्‍याइदिनु भयो भने हामी काम गर्न सक्छौं ।

समाजः भ्रष्टाचार न्युनीकरणका साथै बागमती प्रदेश प्रहरीको प्राथमिकताका कामहरु के-के छन् ?
लामाः समग्र बागमती प्रदेश प्रहरीको कार्य अनुगमन गर्ने, निरिक्षण गर्ने, मूल्याङकन गर्ने उच्च निकाय हो । त्यसैले हाम्रो काम भनेको मातहतमा जो खटिएका छन्, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय वा तालिक केन्द्रहरु यि सबैले के-कस्ता काम गरे भनेर हामीले निगरानी गर्ने हो । हामीले ति कार्यालयहरुसँग कार्यसम्पादन करार गरिसकेका छौं । त्यसमा हामीले स्पष्ट के भनेका छौं भने तपाईहरु फिल्डमा खटिनुभएको छ । फिल्डमा यस्ता कार्यहरु गर्नुस् तपाईले यहि दायित्व पुरा नगरेको खण्डमा हामी त्यही अनुसार मुल्याङ्कन गर्ने छौं । कार्वाही गर्ने छौं । मुख्य चै हाम्रो फिल्डमा भएको प्रहरी र कार्यालयलाई अनुगमन गर्ने, मूल्याङकन गर्ने लगायतका काम नै हाम्रो मुख्य काम हो । त्यसैले उहाँहरुको कामको आधारमा हामीले मुल्याङकन गरेर वृद्धि विकास गर्ने लगायतका कामहरु गर्ने हो ।