हेटौँडा : ‘विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम’ संचालनका लागि बागमती प्रदेश युवा परिषद् र हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसबीच मंगलबार सम्झौता भएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँ र मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले समझदारीपत्र हस्ताक्षर गरी आदान–प्रदान गरिएको छ ।
युवामा रहेको सिर्जनात्मक क्षमता र उद्यमशील सोचलाई व्यावसायिक रूपमा रूपान्तरण गर्ने गरी विशिष्ट युवा पहिचान कार्यक्रम सञ्चालन गरिने बताइएको छ । उद्यम तथा व्यवसायको क्षेत्रमा नयाँ विचारलाई प्रवद्र्धन गर्दै युवा स्टार्टअपहरूलाई आवश्यक परामर्श, वित्तीय सहायता, प्रविधि तथा पूर्वाधारको पहुँच उपलब्ध गराउन सहयोग पुग्ने परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंले बताउनुभयो । यसैगरी युवा नवप्रवर्तकलाई स्टार्टअप इन्क्यूबेटरमार्फत सहजीकरणसँगै व्यावसायिक तालिम, नेतृत्व विकास, लगानी व्यवस्थापन तथा डिजिटल मार्केटिङसम्बन्धी ज्ञान, स्टार्टअप एक्सपो, इनोभेशन समिट तथा विभिन्न उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै नयाँ विचारयुक्त स्टार्टअपहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराइने तथा व्यवसाय दर्ता, कर व्यवस्थापन तथा लगानी स्रोत पहिचान गर्न आवश्यक परामर्श दिइने चौलागाईँको भनाई छ । सम्झौताअनुसार मकवानपुर बहुमुखी क्याम्पसले नवप्रतिभा, नवउद्यमशील युवालाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना गर्नेछ । सूचना आव्हानपछि प्राप्त प्रस्तावहरुमध्ये उत्कृष्ट ३० वटा प्रस्ताव छनोट गरी ती युवाका प्रस्तावको प्रस्तुती, कार्यान्वयनको तयारी र कार्यान्वयनको चरणमा उत्कृष्ट ३ प्रस्तावलाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गर्नेछ ।
कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल, क्याम्पसका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।