बागमती प्रदेश प्रहरीले दुई दिनमा फरक प्रवृत्तिका प्रहरीहरुलाई पुरस्कृत र दण्डित गरेको छ । ड्युटीमा खटिएका प्रहरी मध्ये प्रलोभनमा नपर्ने ३ जना प्रहरी पुरस्कृत भएका छन् भने प्रलोभनमा परेका अन्य ३ जना दण्डित भएका छन् । सरकारी कर्मचारीहरु सबै अनियमित काममा संलग्न हुन्छन् भन्ने सामाजिक मान्यता विकास भइरहेको समयमा केही उदाहरण बागमती प्रदेश प्रहरी कार्यालयले देखाएको छ । जति काम गरे पनि हौसला नै छैन भन्ने निराशाभाव एकातिर छ भने अर्कोतर्फ सामाजले सधैं कर्मचारीहरुप्रति नकारात्मक सोच्ने गरेको अवस्थामा बागमती प्रदेश प्रहरी नेतृत्वको काम उदाहरणीय बनेको छ । कार्य क्षेत्रमा रहँदा प्रलोभनमा नपर्ने मात्र हैन कि त्यस्तो कार्य गराउन खोज्नेहरुलाई नै कानूनी दायरामा ल्याउने प्रहरीको ईमान्दारिता शुभ संकेत हो । यस्ता सज्जन प्रहरीको कामले गर्दा सवै कर्मचारी बदमास हुँदैनन् भन्ने प्रमाण पेश गरेको छ ।

समाजमा दुवै प्रकृतिका मानिस हुन्छन् । एउटै पदका मानिसलाई उही पारिश्रमिकले व्यवहार चलाउन पुग्ने र अर्कोलाई नपुग्ने भन्ने हुँदैन । यो त मानिसको आचरण र स्वभावमा भर पर्दछ । त्यसैले बागमती प्रदेश प्रहरीले ड्युटीमा खटिएका बेला गैरकानूनी काम गर्ने व्यक्तिको प्रलोभनमा नपर्ने प्रहरीलाई पुरस्कृत गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले मकवानपुर र सिन्धुली जिल्लामा कार्यरत ३ जना प्रहरी जवानलाई पुरस्कृत गरेको हो । प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने सिन्धुलीका ९ जना र मकवानपुरका १ जनालाई नियन्त्रणमा लिई कारवाही गर्ने प्रहरीहरु पुरस्कृत भएका छन् । कार्य क्षेत्रमै घुस माग्नेदेखि घुस दिनेलाई कारवाही गर्ने दुवै प्रवृत्ति देखिन्छ । त्यसैले दण्ड र पुरस्कारले जवाफदेही बनाउने गर्दछ ।
आर्थिक प्रलोभनमा पर्ने प्रहरी कारवाहीमा पनि परेका छन् । प्रदेश प्रहरीले आर्थिक प्रलोभनमा परेका ४ जना ट्राफिक प्रहरीलाई कारवाही गरेको छ । सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरीलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । खराब असल आचारण गर्दा हुने पुरस्कार र खराब आचरण देखाउँदा पाउने दण्डले कुनै पनि संगठनमा कार्यरत कर्मचारीलाई जिम्मेवारी र उत्तरदायित्व बोध गराउँदछ । उल्लेखित दुई फरक घटनाले प्रहरी संगठन भित्र दुवै खाले प्रवृत्ति छन् भन्ने देखाएको छ । व्यवहार र आचारण अनुसार कारवाही र दण्ड हुन्छ भन्ने कुरा पनि बागमती प्रदेश प्रहरी कार्यालयले देखाएको छ ।

आचरण विपरितको कार्य गर्ने जो कोहीलाई पनि संस्थाको नियमानुसार कारवाही हुनै पर्दछ । ता कि अरु कर्मचारीहरुले पनि त्यस्तो काम गर्ने आँट र विचार गर्न नसकुन् । आफु मात्र गैरकानूनी कार्यमा सहभागी नहुने मात्र हैन कि कसैलाई पनि त्यस्ता काम गर्नबाट रोक्न सक्नु पर्दछ । यस्तै संलग्न भएको पाईए वा प्रयास गर्नेहरुलाई कानूनी दायरामा ल्याउने जिम्मेवारी पनि राष्ट्रसेवकहरुको हो । यही जिम्मेवारी पुरा गर्दा केही प्रहरी पुरस्कृत भएका छन् भने जिम्मेवारी बिर्सनेहरु दण्डको भागिदार बनेका छन् । कर्तव्यनिष्ट कर्मचारीहरुको आत्मबल बढाउनका लागि संगठनहरुले पनि उचित प्रोत्साहनको व्यवस्था गर्नु आवश्यक छ । राम्रो काम गर्न उत्प्रेरणको व्यवस्था भए स्वतः कार्यप्रति सकारात्मक सोचको विकास हुन सक्छ । यस्ता पुरस्कार र दण्डको निरन्तरता सबै क्षेत्रमा आवश्यक छ ।