हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारी संस्थाहरु निरन्तर गरिरहेको क्रियाकलापबाट माथि उठनु पर्ने बताउनुभएको छ । उहाँले प्रदेशमा कतिपय सहकारीहरु नाम मात्रैको सहकारी भएकोले सहकारीले सहकारीको मर्म र भावना अनुसार काम गर्नुपर्ने बताउनुभयो । बुधबार प्रदेशस्तरीय सहकारी संघहरुको दर्ता प्रमाणपत्र वितरण कार्यक्रममा बोल्नुहुँदै सहकारीलाई समयानुकूल परिवर्तन हुन आग्रह गर्नुभएको छ ।
बागमती प्रदेशका तीन वटा विषयगत संघहरुलाई मुख्यमन्त्री पौडेलले बुधबार दर्ता प्रमाणपत्र प्रदान गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेलाई प्रदेश सहकारी संघ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटालाई प्रदेश बचत तथा ऋण सहकारी संघको दर्ता प्रमाणपत्र र बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्लीप्रसाद पाठकलाई प्रदेश कृषि सहकारी संघको दर्ता प्रमाणपत्र प्रदान गर्नु भएको हो । दर्ता प्रमाणपत्र वितरण गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सहकारीहरु उत्पादन गर्नुको साथै बजारीकरणलाई पनि जोड दिन आग्रह गर्नुभयो । प्रदेश सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन नगरिएको भन्ने विषयको खण्डन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले कुनै पनि विषयगत अर्थात सहकारी संस्थाहरुले प्रस्ताव नराखेकोले बजेट नछुट्याइएको बताउनुभयो । उहाँले अब सहकारीहरुले किसानलाई गाई पाल्न मात्रै होइन दुध बेच्नमा पनि भूमिका खेल्नुपर्ने बताउनुभयो । सहकारी र सरकार हातेमालो गर्दै अगाडि बढेमा राष्ट्र निर्माण टेवा पुग्ने उहाँको भनाइ थियो ।
बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारीहरुले आफ्नो मुख्य उद्देश्यलाई नभुली आफ्नो उद्देश्यलाई आत्मसात गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले सहकारीहरुले बचत र ऋणलाई मात्र प्राथमिकता नदिई उत्पादनमा जोड दिँदै कृषिलाई आधुनिकीकरणमा लैजानु पर्ने बताउनुभयो । सहकारीहरुले बस्तुको उत्पादनलाई व्यावसायिक ढंगले जोड दिँदै अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनलाई बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकार सहकारीसँग सधैं साझेदारीमा अगाडि बढ्न सकारात्मक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर विश्वकर्माले सहकारीले हालको अवस्थामा रोजगारी सृजना गरेर सरकारलाई सहयोग गर्नु पर्ने बेला भएको बताउनुभयो । उहाँले सहकारी अभियान ग्रामीण सामुदायमा त पुगेको तर निम्न वर्ग सुकुम्बासी जनताको घरदैलोमा पुग्न नसकेको बताउनुभयो । खासगरी तल्लो वर्गको मानिसलाई आर्थिक हिसावले माथि ल्याउनु सहकारीको उद्देश्य भएको तर कुनै पनि सहकारीले यस्तो गर्नु नसकेको उहाँको ठहर थियो । हाल तीनै तहको सरकारले सहकारीलाई साथ दिएकोले सहकारीहरु अगाडि बढ्ने राम्रो अवसर भएको उहाँले प्रष्ट पार्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले संविधानले पनि सहकारीलाई महत्व दिएको बताउनुभयो । उहाँले पुँजी परिचालन गर्न, उत्पादन गर्न, रोजगारी सृजना गर्न र उत्पादनलाई बजारीकरण गर्न सहकारीहरु अब सरकारसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने बताउनुभयो ।
बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले सरकार सहकारीसँगै भएको बताउनुभयो । उहाँले अब सरकार र सहकारी मिलेर विकास र आर्थिक क्रियाकलाप बृद्धिमा लाग्ने बताउनुभयो । सहकारी ऐन, नियमावली र दर्तामा पनि बागमती प्रदेश अरु प्रदेश भन्दा अगाडि रहेको उहाँले बताउनुभयो । बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी विकास महाशाखाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल, राष्ट्रिय दुग्ध सहकारी संघका अध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, विभिन्न विषयगत सहकारी संघका १३ वटै जिल्लामा अध्यक्षहरु लगायत सहकारी संघ संस्थामा आवद्ध व्यक्तित्वहरु र बागमती प्रदेश सरकारको विभिन्न मन्त्रालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बुधबार दर्ता प्रमाणपत्र वितरण गरिएका बाहेक अन्य सहकारीको पनि दर्ता प्रक्रिया भैरहेको सचिव डा. कार्कीले जानकारी दिनुभयो ।
सहकारीको प्रदेशस्तरीय संघको प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।