हेटौँडा ः बिहीबार बिहानैदेखि वर्षा भएसँगै हेटौँडामा अहिले शितल महसुस भएको छ । बिहीबार बिहान करिब ३ बजेदेखि चट्याङसहित वर्षा सुरु भएको हो । सिमसिम पानी निरन्तर परिरहेकोले दिउँसो शिलत भएको छ । यस वर्षको हिउँदमा हेटौँडामा वर्षा भएको थिएन ।
हिउँदे वर्षा नभएका कारण हिउँद सकिएर वर्षायाम सुरु हुन लाग्दा चरम गर्मी बढेको थियो । हिउँदे वर्षा नभएकै कारण हेटौँडा उपमहानगर आसपासका जंगलमा लागेको डँढेलोले हेटौँडाको वातावरण प्रदुषित समेत बनेको थियो । वर्षासँगै डँढेलो नियन्त्रणमा आई वातावरण सफा हुने अपेक्षा गरिएको छ । बिहीबारको वर्षासँगै खेती, किसानी गर्नेलाई सहयोग पुग्नेछ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशखाले उल्लेख गरेको छ ।
यस्तै बिहीबार राती देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



वर्षासँगै हेटौँडामा छाता ओढेर हिँड्दै सर्वसाधारण । तस्वीरः विनोद कँडेल ।