हेटौँडाः जेनजी आन्दोलनको कारण १ अर्व बढीको क्षती व्यहोरेको बागमती सरकार पुरानै अवस्थामा फर्किएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त बनेका प्रदेशका सरकारी संरचनाहरुको पुनर्निर्माण कार्य सम्पन्न गरी पुरानै लयमा फर्किएका हुन् ।
क्षतीग्रस्त मर्मत तथा पुनर्निर्माण सम्पन्न भएसँगै सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक कार्यक्रमका बीच मन्त्रालयका भवनहरु हस्तान्तरण गरेका हुन् । शहरी विकास तथा भवन कार्यालय हेटौंडा मार्फत् ठेक्का आह्वान गरी प्रदेशको ५ वटा मन्त्रालय रहेको भवन सहित प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, सहकारी तथ गरिवी निवारण मन्त्रालय र प्रमुख सचिव निवास लगायत ५ वटा भवनको पुनर्निर्माण सकिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको भवन भने सामान्य मर्मत पछि संचालनमा ल्याइएको छ ।
पुर्नर्निमाण पछि भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सातै प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा पहिले क्षतीग्रस्त भवनहरु पुनर्निर्माण सकेको बताए । क्षतीको व्यवस्थापन पछि मन्त्रालयहरु पुरानै अवस्थामा काम गर्नेगरी भवन सार्ने क्रममा रहेको उनले बताए ।
आन्दोलनका क्रममा भौतिक संरचनामा ठुलो क्षति पुगेपछि लामो समयदेखि कामचलाउ र अप्ठ्यारो परिस्थितिमा सेवा प्रवाह भइरहेको उनको भनाई छ । पुनर्निर्माण सकिएसंगै सरकारलाई कार्य सम्पादनमा सहजता आउने उनले विश्वास व्यक्त गरे । ‘जेनजी आन्दोलन पछि बस्नलाई उपयुक्त भवन नहुँदा हामीले निकै कठिन समय भोग्यौँ । भौतिक मन्त्री र सचिवको विशेष सक्रियतामा ५ वटा मन्त्रालयका कामकाज अब पुरानै व्यवस्थित भवनबाट सञ्चालन हुनेछन् ।’ उनले भने
उनका अनुसार प्रदेश सरकार स्थायी संरचना निर्माणमा पनि अघि बढेको बताए । उनका अनुसार अब छिट्टै जग्गामा रहेका रुख कटान गरी संरचना निर्माणको काम सुरु गरिनेछ । चालु आर्थिक वर्षभित्र प्रदेशको स्थायी संरचना निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढ्ने र मन्त्रिपरिषद्को आकार घटाएर सुशासन र मितव्ययिता कायम गर्ने तयारी अनुसार काम भइरहेको उनले बताए । सरकारले जनतालाई दिने सेवालाई थप पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउने तयारी गरेको उनले बताए ।
पुनर्निर्माणका क्रममा भवनको संरचनात्मक सुरक्षालाई विशेष प्राथमिकता दिइएको भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले बताए । आगजनीका कारण पिलर र बिममा रहेका डण्डीहरु पग्लिएर संरचना कमजोर बनेकाले पुल्चोक क्याम्पसका विज्ञ र स्ट्रक्चरल इन्जिनियरहरुको टोली ल्याएर अध्ययन गराइएको उनले बताए ।
‘अध्ययनको निष्कर्षका आधारमा ३÷४ वटा मुख्य पिलर र बिमहरुलाई प्रिफ्याब प्रविधिमार्फत रेट्रोफिटिङ गरिएको छ । यो प्रविधि अन्य प्रदेशका लागि पनि सिकाईको विषय बनेको छ ।’ उनले भने ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार आन्दोलनका क्रममा बागमती प्रदेशले कुल १ अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको थियो । जसमध्ये भवनतर्फ मात्रै ८४ करोडको क्षति भएको उनले बताए । सचिव मरहठ्ठाका अनुसार पुनर्निर्माणका क्रममा संकटकालीन अवस्थामा सीधै खरिद गर्न मिल्ने प्रावधान भए पनि पारदर्शिताका लागि सार्वजनिक खरिद ऐन बमोजिम ३० दिने सूचना प्रकाशित गरेर विधिपूर्वक काम गरिएको छ ।
हाल ५ वटा जेनजी आन्दोलनमा क्षती पुगेको मन्त्रालय भवन सहित ५ भवनको पुनर्निर्माणका लागि कुल ३ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख भुपेन्द्र यादवले जानकारी दिए । ५ मन्त्रालय रहेको भवन पुनर्निर्माणका लागि १ करोड ८४ लाख लागत अनुमान गरिएकोमा सत्गुण कन्स्ट्रक्सनले १ करोड २८ लाखमा ठेक्का सम्झौता गरेर काम गरेको उनले बताए । सम्झौता भएको छोटो अवधिमै (मंसिर ११ देखि फागुन ५ सम्म) निर्माण व्यवसायीले गुणस्तरीय काम सम्पन्न गरेको उनले बताए ।
‘हामीले पहिलो चरणमा भवन बस्न योग्य छ कि छैन भनेर प्राविधिक परीक्षण गरायौँ । परीक्षणका आधारमा केही कोठाहरुमा रेट्रोफिटिङ गरी बिग्रिएका पिलर र बिमहरुलाई मजबुत बनाइएको छ ।’ उनले भने, ‘शहरी विकास तथा भवन कार्यालयलाई जम्मा ६ वटा भवन मर्मतको लागि स्रोत सहमति प्राप्त गरेकोमा ५ वटा भवनको ठेक्का प्रक्रिया अघि बढाएको थियो । ५ वटा मन्त्रालय रहेको भवनसहित प्रमुख सचिवको आवास भवन, सहकारी तथा गरिबी निवारण मन्त्रालय र बागमती प्रदेश सचिवालय गरी ५ वटा भवनको कुल ३ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।’
हालसम्म मन्त्रालय भवन, प्रमुख सचिवको आवास, सहकारी मन्त्रालय लगायतका ४ वटा भवनको काम सम्पन्न भई हस्तान्तरण भइसकेको उनले बताए । प्रदेश सचिवालयको भवन मर्मत कार्य अन्तिम चरणमा रहेको उनको भनाई छ । भवनको संरचनात्मक सुरक्षा सुनिश्चित गरेर मात्रै मन्त्रालयहरुलाई कार्य सञ्चालनका लागि हस्तान्तरण गरिएको उनले बताए ।
पुनर्निर्माणका क्रममा रेट्रोफिटिङका साथै प्लाष्टर, पेन्टिङ, झ्याल–ढोका मर्मत, र रङरोगनका कामहरु गरिएका छन् । भवनमा मर्मतका साथै नयाँ लिफ्ट, ट्रान्सफर्मर, एसी जडान, टायल–ग्रेनाइट बिछ्याउने र रङरोगनको काम समेत गरिएको छ ।










