हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–५, भट्टीडाँडास्थित आइतमान स्याङ्बोको घर आगोले जलेर नष्ट भएको छ । ढुङ्गा, माटोले बनेको जस्तापाता छाएको आइतमानको एक तल्ले घर बुधबार बिहान बिजुलीको लाईन सट भई आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

बिहान ११ः३० बजेको समयमा स्थानीय र प्रहरी टोलीको सहयोगमा आगो नियन्त्रणमा लिए पनि घर जलेर पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । घरमा रहेको सुन १ तोला, चामल–३ बोरा, मकै–३ मुरी, कोदो, गहुँ–३० पाथी, लत्ता–कपडासहित सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा आइतमानको ७ लाख रुपेयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।