हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले सञ्चार माध्यमलाई सूचना वितरणका लागि कार्यविधि बनाउने भएको छ । कार्यविधि भोलि शुक्रबार बस्ने कार्यपालिका बैठकबाट पारित गरेर कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिनुभएको छ ।
नगरप्रमुखको तोकमा, नगर कार्यपालिकाका प्रवक्ता, नगरप्रमुखको सचिवालयका कर्मचारीको तजविजमा सूचना वितरण हुँदै आएको विषयमा प्रमुख प्रशासकीय अधिकृत गौतमलाई ध्यानाकर्षण गराएपछि सन्तुलित र समानुपातिक ढंगले सूचना वितरणका लागि कार्यविधि नै बनाएर लागू गर्न लागिएको हो । हेटौँडा उपमहानगरपालिकाको कार्यालयबाट हुने काम, कारवाहीका विषयमा आलोचनात्मक समाचार प्रकाशन भएकै कारण त्यस्ता सञ्चार माध्यमलाई नगरप्रमुख, प्रवक्ता, नगरप्रमुखको सचिवालयका कर्मचारीले सूचनाबाट बञ्चित गर्ने गरिएको थियो ।
‘पालिकाबाट सार्वजनिक गर्नुपर्ने सूचनालाई सबै सञ्चार माध्यममा सन्तुलित र व्यवस्थित ढंगबाट वितरण गर्न गराउन कार्यविधि तयारी गरिएको छ’, प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भन्नुभयो, ‘भोलि शुक्रबार बस्ने कार्यपालिकाबाट सूचना वितरणसम्बन्धी कार्यविधि पारित गरेर लागू हुनेछ । आगामी दिनमा सोही कार्यविधिअनुसार व्यवस्थित ढंगबाट सूचना वितरण गर्नेछौं ।’