हेटौँडा : हेटौँडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी कमला अधिकारीको हृदयघातका कारण निधन भएको छ । बुधबार साँझ घरमै सरसफाई गर्ने क्रममा एक्कासी ढल्नुभएकी ४३ वर्षीय अधिकारीको हृदयघातका कारण मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिनुभयो ।

अधिकारीको निधनप्रति हेटौँडा उपमहानगरपालिका कार्यालयले शोक व्यक्त गरेको छ । हेटौँडा उपमहानगरपालिकाले आज बिहीबार एकदिन ३ नम्बर वडा कार्यालयमा शोक व्यक्त गर्दै काम बन्द गरेको छ । उपमहानगरपालिकाले वडा तहमा शोक पर्दा वडा कार्यालय मात्रै बन्द गर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिनुभयो ।

यसअघि नगर कार्यपालिकाको कार्यालयदेखि वडा कार्यालयहरुमा समेत काम बन्द गर्ने गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत गौतमले भोलि शुक्रबार बस्ने कार्यपालिका बैठकबाट वडा कार्यालयका कर्मचारीको शोकमा वडा तहमा मात्रै काम बन्द गर्ने गरी कार्यविधि पारित गरेर लागू गर्ने तयारी भएको जानकारी दिनुभयो ।