
हेटौँडा : मकवानपुरका सामुदायिक विद्यालयले वार्षिक परीक्षा सकिएसँगै भर्ना अभियान सुरु गरेका छन् । गुणस्तरीय शिक्षा, व्यवस्थित कक्षाकोठा, शुद्ध खानेपानी र खाजाको व्यवस्था रहेको भन्दै विद्यार्थी संख्या बढाउने उद्देश्यले विद्यालय भर्ना अभियानमा जुटेका छन् । कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहोस् भन्ने अभिप्रायले भर्ना अभियान सुरु गरिए पनि विद्यालयलाई विद्यार्थी टिकाउन भने समस्या रहेको छ ।
मकवानपुरका १० पालिकाभित्र रहेका प्रायः विद्यालयले भने नयाँ शैक्षिक सत्र २०८२ सुरु हुन बाँकी रहेकाले वैशाखदेखि मात्र भर्ना अभियान सुरु गरिने बताएको छ । हेटौँडा–१३, वनस्पतिस्थित युगचेतना नमुना आधारभूत विद्यालयले बिहीबारबाट भर्ना अभियान सुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक शंकर थिङकाअनुसार विद्यार्थी संख्या बढाउने उद्देश्यले भर्ना अभियान सुरु गरेको हो । शैक्षिक सत्र २०८१ मा ३ सय ७५ जना विद्यार्थी भर्ना भएको जानकारी दिनुहुँदै उहाँले ४ सय विद्यार्थी संख्या पु¥याउने लक्ष्य विद्यालयको रहेको बताउनुभयो । विद्यालयलाई भर्ना अभियानसँगै भर्ना भएका विद्यार्थीलाई टिकाउन समस्या रहेको प्रधानाध्यापक थिङले जानकारी दिनुभयो । विशेषगरी अंग्रेजी माध्यममा अध्ययनरत् विद्यार्थीले बीचैमा पढाइ छोड्ने गरेको उहाँको भनाई छ ।
ईसिडीमा अध्ययनरत् विद्यार्थीलाई मासिक ५ रुपैयाँदेखि कक्षा–९ मा अध्ययनरत् विद्यार्थीलाई मासिक एक हजार ५ सय रुपैयाँ विद्यालयले लिँदै आएको प्रधानाध्यापक थिङले जानकारी दिनुभयो । तर विद्यालयले मासिक शुल्क लिएपछि पैसा तिर्न नसक्ने भन्दै पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो । यसैगरी हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले पनि सोमबारबाट भर्ना अभियान सुरु गरेको छ । विद्यार्थी संख्या एक हजार पु¥याउने लक्ष्यसहित भर्ना अभियान सुरु गरिएको श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो ।
यसैगरी राक्सिराङ गाउँपालिका–३ स्थित सूर्योदय माध्यमिक विद्यालयले भने वैशाख २ गतेबाट मात्र भर्ना अभियान सुरु गरिने जनाएको छ । विद्यार्थीको संख्या वृद्धि गर्ने उद्देश्यले सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सिताराम सुवेदीले नेपाल सरकारको मापदण्ड र निर्देशनअनुसार चल्नुपर्ने भएकाले २ गतेदेखि मात्र भर्ना अभियान सुरु गरिने बताउनुभयो । कक्षा–१२ सम्म अध्यापन हुने विद्यालयमा शैक्षिक सत्र २०८१ मा करिव ६ सय विद्यार्थीले भर्ना भएका थिए । यस्तै यस वर्ष करिव ५० जना नयाँ विद्यार्थी भर्ना गर्न सकिन्छ कि भन्ने लक्ष्य रहेको छ । तर ३०–४० जनाले वार्षिक परीक्षा समेत नदिएको अवस्थामा भर्ना भएका ती विद्यार्थीलाई टिकाउन भने समस्या रहेको उहाँको भनाई छ । ग्रामीण क्षेत्रका विद्यालयलाई विद्यार्थीको आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थी टिकाउन समस्या भएको प्रधानाध्यापक सुवेदीले बताउनुभयो । विशेष गरेर गरिबी र बालविवाहका कारण राक्सिराङमा बीचैमा पढाइ छोड्ने गरेको उहाँले जानकारी दिनुभयो ।
हेटौँडा–१, चाईनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयले चैत २९ गतेबाट भर्ना अभियान सुरु गर्ने जनाएको छ । अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीकाअनुसार चैत २७ र २८ गते वार्षिक परीक्षाको नतिजा सार्वजनिक पश्चात भर्ना अभियान सुरु गरिनेछ । विद्यार्थी संख्या बढाउने भन्दा पनि छिमेकी ठूला दुई विद्यालयमा भर्ना हुन नपाएका विद्यार्थीलाई समावेश गरेर गुणस्तरीय शिक्षा र अभिभावकको विश्वासलाई अत्मासात् गर्न विशेष प्राथमिकता दिने उहाँले बताउनुभयो । यस्तै भीमफेदी गाउँपालिकामा रहेको बाराही माध्यमिक विद्यालयले वैशाख २ गतेबाट मात्र भर्ना अभियान सुरु गरिने जनाएको छ । विद्यार्थी संख्या बढाउने र कुनै पनि बालबालिका विद्यालय बाहिर नहोस् भन्ने उद्देश्यले भर्ना अभियान सुरु गर्न लागिएको बाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डिपी गौतमले जानकारी दिनुभयो । बीचमै पढाइ छाड्ने विद्यार्थीको दर पनि रहेकाले नयाँ भर्ना भएका विद्यार्थीलाई टिकाउन समस्या रहेको उहाँले बताउनुभयो । आर्थिक समस्याकै कारणसँगै पढाइप्रतिको महत्व बुझ्न नसक्दा विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेको प्रधानाध्यापक गौतमको भनाई छ ।
बकैया गाउँपालिका–४, स्थित महेन्द्र माध्यमिक विद्यालयले पनि भर्ना अभियान सुरु गरेको छ । गत बिहिबार घरदैलो गर्दै विद्यार्थी भर्ना अभियान सुरु गरिएको प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिनुभयो । महेन्द्र माविले बुधबार वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेर बिहिबारदेखि भर्ना अभियान सुरु गरेको हो ।