ढलान गरेर मर्मत गर्दै गरिएको सडक ।

सिस्नेरी : हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कुलखानी–सिस्नेरी–छैमले सडक पुनःनिर्माणको काम धमाधम भइहरेको छ । गत असोजको विपद्बाट क्षति पुगेको उक्त सडकको पुनः निर्माणको काम तिव्रता दिइएको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विपद् व्यवस्थापन कोष मार्फत् बजेट व्यवस्था गरेर उक्त सडक पुनः निर्माणको काम अघि बढाएको हो । असोज १० गतेदेखि १२ गतेसम्मको वर्षाका कारण भरिएको कुलेखानी जलाशय घटाउने क्रममा आएको बाढीका कारण सिस्नेरी खण्डमा क्षति पुगेको थियो ।

सडक निर्माणका लागि गिट्टी, बालुवा तयारी गरिँदै ।

बाढीबाट क्षति भएको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पुनः निर्माणका लागि मन्त्रालय मातहतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना मार्फत् २ प्याकेजमा ठेक्का आह्वान गरी काम थालिएको छ भने कुलेखानी जलाशय मुनीको पुल पुनः निर्माणका लागि यातायात पूर्वाधार निर्देशनालय मार्फत् ठेक्का लगाइएको छ । सो स्थानमा बेलिब्रिज राख्ने गरी तत्काल काम थाल्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।

बाढीले क्षति पुगेको सडक ।

गत असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएको कुलेखानी जलविद्युत् आयोजनाको बाढीले सिस्नेरी सडकमा क्षति पु¥याएको थियो । भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा बाढीले इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनाएको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर हेटौँडा–काठमाडौं आउजाउ गर्ने सवारीसाधन सवारी सञ्चालन गरिएको छ ।