हेटौँडा : लागूऔषध गाँजासहित मकवानपुरको मनहरी गाउँपालिका–६ का ३८ वर्षीय रवि थिङ बारा जिल्लाको अमलेखगन्जबाट पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले सोमबार बिहान ६ बजेर ४५ मिनेटको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत अमलेखगन्जस्थित प्रहरी कार्यालय अगाडिको प्रहरी चेकपोष्टबाट थिङलाई १० केजी ७ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।
हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको थिङले चलाएको ना ३६ प २१७७ नम्बरको मोटरसाईकललाई रोक्न खोज्दा मोटरसाइकल नरोकी थिङ फरार भएको प्रहरीको भनाई छ । प्रहरीले अमलेखगन्जको गणेश मन्दिर नजिक थिङलाई नियन्त्रणमा लिन सफल भएको जानकारी दिएको छ । थिङले बोकेको कालो झोलामा ६ किलो र मोटरसाइकलको तेल ट्याङकी भित्र ४ किलो ७ सय ग्राम लागूऔषध गाँजा वरामद भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल र रवि थिङलाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा अनुसन्धान जारी राखेको जनाएको छ ।