पत्रकार सम्मेलनका क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः साइकल सिटी हेटौंडाले हेटौंडादेखि चितवनसम्म साइकल यात्रा आयोजना गर्ने भएको छ । बागमती प्रदेशको संस्कृति तथा पयर्टन मन्त्रालय र आन्तरिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोगमा साइकल यात्रा आयोजना गर्न लागिएकोे साइकल सिटी हेटौंडाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

आगामी बैशाख १२ गते बिहान ७ बजेबाट साइकल यात्रा सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भूटनदेवी मन्दिर दर्शन गरी यात्रा सुरु गर्ने र हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका हुँदै चितवनसम्म ८५ किलोमिटर यात्रा गरिने साइकल सिटी हेटौंडाका सल्लाहकार रामकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यात्राको क्रममा विभिन्न संघसंस्थाले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ । साँझ ६ बजे विविध सांस्कृतिक कार्यक्रम गरिनेछ । भोलिपल्ट बिहान जंगल सफारी गरी साइकल यात्रा समापन हुनेछ ।
यात्रामा करिब ४६ जिल्लाबाट ५ सय जना साइकलयात्री सहभागी हुने आयोजकको अनुमान छ । कार्यक्रममा २४ लाख ४५ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको बताइएको छ ।