Home मुख्य समाचार शिक्षा ऐन जारी गर्न माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण

शिक्षा ऐन जारी गर्न माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण

हेटौंडाः चरणबद्व आन्दोलन अन्तर्गत बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई शिक्षा ऐेन जारी गर्न माग गर्दै शिक्षकहरुले ध्यानाकर्षणपत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ मकवानपुरको अगुवाइमा सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीको माग सम्बोधन हुनेगरी संसदको चालु हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा ऐेन जारी गर्न माग गर्दै मुख्यमन्त्री लामालाई ४ पृष्ठको ध्यानाकर्षणपत्र बुझाइएको हो ।

शिक्षा ऐेन जारी गर्न सरकारले अनेक बाहना गरेर भाग्ने प्रयत्न गरेको भन्दै विगतमा भएका सहमति सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण गराइएको छ । बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको उचित तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधि खारेजी, मासिक तलब भुक्तानीजस्ता विषयलाई शिक्षा ऐनमै सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको हो । स्थायी, राहत, साविक उमावि, शिक्षण सिकाई अनुदान, अस्थायी, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षकका माग र मुद्दा सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनु आवश्यक रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीले जानकारी दिनुभयो ।
गत माघ १६ र १७ गते बसेको नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको बैठक निर्णयअनुसार गत फागनु ६ गतेबाट पहिलो चरणको आन्दोलन सुरु गरिएको हो । सोही क्रममा नेपाल शिक्षक महासंघका विभिन्न समितिले बिहीबार ७ वटै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री लामाले ध्यानाकर्षणपत्र बुझ्नुहुँदै शिक्षकबीचको द्वन्द्वकै कारण यस्तो अवस्था सिर्जना भएको जानकारी दिनुभयो । उहाँले शिक्षकको ध्यानाकर्षणपत्रलाई संघीय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता जनाउनुभयो । यसअघि शिक्षक महासंघले सबै स्थानीय सरकारका साथै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ । शिक्षा ऐेन जारी गर्न माग गर्दै फागुन २४ गते काठमाडौंको सिंहदरबार केन्द्रित आन्दोलन गरिँदैछ ।

Exit mobile version