हेटौंडाः रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा सुरु भएको प्रथम संस्करणको अल नेपाल बुटवल मेयर कप खुला स्नुकर प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका सृजन कार्की (शंकर) र सुनिल लामाले विजयी सुरुवात गर्नुभएको छ । सोमबारबाट नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एसोसिएसन रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सृजन कार्की (शंकर) र सुनिल लामाले सहजै जीत हासिल गर्नुभएको हो ।
बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा भएको प्रतियोगितामा पोखरा महानगरपालिकाका रोहित गुरुङलाई ३–२ को सेटले हराउँदै हेटौंडाका सृजन कार्कीले जीत निकाल्नु भएको हो भने आयोजक बुटबलका जनक सिहंलाई ३–० को सोझो सेटले हराउँदै सुनिल लामाले जीत दर्ता गर्नुभएको हो । जीतसँगै कार्की र लामा दोस्रो चरणमा प्रवेश गरेको हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउसका सञ्चालक पूर्णभक्त लामाले जानकारी दिनुभएको छ ।
बुटवल स्नुकर क्लबका अध्यक्ष सुजन पुनको सभाध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । सोमबारबाट सुरु भएको प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
प्रतियोगितामा हेटौंडाका ७ जना खेलाडीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । हेटौंडामै भएको मेयर कप स्नुकर प्रतियोगिताको उपाधि विजेता प्रयास कर्माचार्य, उपविजेता जिनेश श्रेष्ठ, तृतीय हुनु भएका मिथुन लामा, बिनय लामा, नितेश खण्डेवाल, सृजना कार्की र नवीन गुरुङको प्रतियोगितामा सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकासहित रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, इटहरी, बिर्तामोड, बनेपा, परासीलगायतका ठाउँहरुबाट करिब २ सय जना स्नुकर खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ तथा सेमिफाइनलिष्टले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, राइजिङ्ग स्टार र अनुशासनको पालना गर्ने खेलाडीले स्नुकर स्टिक प्राप्त गर्नेछन् ।