हेटौंडाः आगामी भदौ २ र ३ गते पत्रकारको राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंघको बिहीबार काठमाडौंमा भएको बैठकले राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको महासंघ केन्द्रीय समितिको दसौं पूर्ण बैठकले महासंघको सांगठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा, कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असर लगायतका विविध विषयमा छलफल गरेको छ ।
कोरोना महामारीका कारण २०७७ वैशाखका लागि तय भएको महासंघको राष्ट्रिय भेला स्थगित भएको थियो । महासंघको नया“ सदस्यता सिफारिश र सदस्यता नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णय बिहीबारको बैठकले गरेको छ । कोरोना महामारीको कारण देखाउँदै सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई दबावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासंघले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त बनाई परिणाममूखी बनाउने निर्णय भएको महासंघले जनाएको छ ।

कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासंघको मिसन सबै प्रदेशहरुमा परिचालित हुने भएको छ । महासंघले स्थापना गरेको एक करोड रुपैयाँ बराबरको आपतकालिन कोषमा महासंघ केन्द्रकातर्फबाट तीस लाख र महासंघ बेलायत शाखाबाट बीस लाख जम्मा भइसकेकाले कोषमा स्वेच्छिक योगदान गर्न चाहने महासंघका शाखाहरु र सरोकारवालाहरुलाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ ।

महासंघले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । २०७६ साल भदौ ९ गतेदेखि बेपत्ता रहेका सामुदायिक रेडियो बुढीनन्दामा कार्यरत डोटीका पत्रकार तेजु खड्काको हालै कंकाल भेटिएकाले गहन छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्ने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभएको छ ।