हेटौंडा: हेटौंडा–९ स्थित हेटौंडा सिमेन्ट उद्योगलाई बन्द हुन नदिने भन्दै स्थानीय संघर्ष समितिले ध्यानाकर्षणपत्र बुझाएको छ । बिहीबार हेटौंडा–९ नम्बर वडाका स्थानीय संघर्ष समिति अध्यक्ष सुरेश बेरोजगारसहितको टोलीले हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेलाई ध्यानार्कषणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा माओवादी र कांग्रेसका ट्रेड युनियनका पदाधिकारीहरु सहभागी नभएको संघर्ष समितिका अध्यक्ष बेरोजगारले गुनासो गर्नुभएको छ । उहाँले माओवादी र कांग्रेसमा आवद्ध भएका टे«ड युनियनका पदाधिकारीहरुले ध्यानाकर्षणपत्र हस्तान्तरण कार्यक्रमलाई चासो नदिएको आरोप लगाउनुभयो । संघर्ष समितिका सबै मानिस उद्योग सञ्चालनको पक्षमा भए पनि कांग्रेस र माओवादीले समर्थन नजनाएको उहाँले बताउनुभयो । यी दुबै ट्रेड युनियनहरु उद्योग बन्द गर्ने पक्षमा रहेको उहाँको भनाइ छ ।
नेपाली नागरिकका लागि रोजगारी सृजना र राष्ट्रको लागि आर्थिक सम्वृद्धि हासिल गर्ने उद्देश्यले विसं २०३३ साल असोज १३ गते देशकै ठूलो हेटौंडा सिमेन्ट उद्योगको स्थापना भए पनि महालेखाको प्रतिवेदन अनुसार उद्योग बन्द हुने अन्तिम अवस्थामा पुगेको गुनासो आएको उहाँले बताउनुभयो । १ अर्ब ३३ करोड लागतमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगको सम्पत्ति महालेखाको प्रतिवेदन अनुसार ५५ अर्ब रहेको छ । उद्योग बन्द हुने अन्तिम अवस्थामा पुगेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
सिमेन्ट उद्योग बन्द भएपछि ९ नम्बर वडा, जिल्ला र राष्ट्रले अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था आउने विज्ञप्तिमार्फत् गुनासो गरिएको छ । सिमेन्ट उद्योग बन्द भएमा जिम्मा लिने विषयमा ? दोषीको विषयमा ? नेपाल सरकारले नियुक्ति गरेका महाप्रबन्धकबाट यसको जवाफ नेपाली जनता र वडाबासीले पाउनुपर्ने माग गरिएको उहाँले बताउनुभयो । हेटौंडा सिमेन्ट उद्योग सुचारु ढंगबाट सञ्चालन हुनुपर्छ भन्ने विषयमा स्थानीय संघर्ष समितिको ध्यानाकर्षण भएको बताइएको छ ।
हेटौंडा सिमेन्टको बजारमा माग उत्तिकै भए पनि ६ महिनादेखि उत्पादन बन्द भएको विषयमा सूक्ष्म ढंगबाट अनुसन्धान हुनुपर्ने माग गरिएको छ । अवकाश प्राप्त कर्मचारीले पाउनुपर्ने सेवा सुविधा भुक्तानीका लागि पनि उद्योग तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ । निजी सिमेन्ट कम्पनीले जनताको ढाड सेक्नेगरी सिमेण्टको मूल्य वृद्धि गरेको भन्दै उद्योग सञ्चालनका लागि सञ्चालक समिति, उद्योगका क्रियाशील ट्रेड युनियनहरु र महाप्रबन्धक उदासिन बनेको आरोप लगाइएको छ ।
करिब एक हजार जनालाई रोजगारी दिइरहेको अवस्थामा हेटौंडा कपडा उद्योग बन्द हुँदा हेटौंडाको मात्र नभई देशकै रोजगारी र अर्थतन्त्रमा ठूलो धक्का पुगेको बताइएको छ । सरकारी स्वामित्वको हेटौंडा सिमेण्ट उद्योग बन्द भएमा आर्थिक समृद्धि र रोजगारीको ढोका बन्द हुने निश्चित भएकाले उद्योग तत्काल सञ्चालन गर्न स्थानीय संघर्ष समितिले जोडदार माग गरेको छ ।