हेटौँडा ः त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षा आज शुक्रबारबाट सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको कार्यालयले मकवानपुर जिल्लामा २ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र हेटौँडा–४ स्थित हेटौँडा क्यामपसमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
मकवानपुर जिल्लाका ७ वटा क्याम्पसमा विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकायमा गरी कुल ६०५ जना विद्यार्थीले स्नातक तह दोस्रो वर्षको परीक्षा फारम भरेका थिए । बिहान ७ बजेबाट वाणिज्य संकायको परीक्षा हुनेछ भने दिउँसो १२ बजेबाट विज्ञान, मानविकी र शिक्षाशास्त्र संकायको परीक्षा हुनेछ । परीक्षा ३ घण्टाको हुनेछ । स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षा फागुन ६ गतेसम्म हुनेछ ।