नवनियुक्त क्याम्पस प्रमुख बालकृष्ण घिमिरे।

हेटौंडा: हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको प्रमुखमा बालकृष्ण शर्मा घिमिरे नियुक्त हुनुभएको छ । आइतबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखको जिम्मेवारी घिमिरेलाई दिने निर्णय गरेको हो ।

हेटौंडा क्याम्पस प्रमुखको जिम्मेवारी पाउनुभएका घिमिरेले सोमबारबाट जिम्मेवारी लिनुहुनेछ । हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामाले राजीनामा दिनुभएसँगै घिमिरेलाई जिम्मेवारी प्रदान गर्ने निर्णय क्याम्पस सञ्चालक समिति बैठकले गरेको हो ।

करिब १ महिना पहिला नै क्याम्पस प्रमुख लामाले राजीनामा दिनुभए पनि आइतबारमात्र उहाँको राजीनामा स्वीकृत भएको नवनियुक्त क्याम्पस प्रमुख घिमिरेले जानकारी दिनुभएको छ । लामाले आफ्नो घरायसी कारणले गर्दा राजीनामा दिनुभएको बताउनुभयो ।

क्याम्पस प्रमुख नियुक्त हुनुभएका घिमिरेले विसं २०५१ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेर ज्योति माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको थियो । २०७४ सालमा मकवानपुरगढी गाउँपालिकाको चण्डिका माध्यमिक विद्यालयमा निमावि तहमा अंग्रेजी विषय शिक्षकको रुपमा नियुक्त हुनुभएको घिमिरेले सोही वर्षबाट हेटौंडा क्याम्पसमा अंग्रेजी विषयकै शिक्षक बन्नुभयो । २०७९ सालसम्म सहायक प्राध्यापक र उपप्राध्यापकको रुपमा काम गरेको उहाँले बताउनुभयो ।

आफूले क्याम्पस प्रमुखको जिम्मेवारी लिएपछि क्याम्पसको शैक्षिक, आर्थिक सबलीकरणमा प्राथमिकता दिने उहाँले बताउनुभयो । क्याम्पसको सबै पक्षको विकास गर्नका लागि शिक्षकको क्षमताअनुसार सबैसँग समन्वय गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । क्याम्पसका शिक्षकहरुको कार्यक्षमता वृद्धि, अनुसन्धात्मक कार्यमा शिक्षक फ्याकल्टी प्रेरित प्रोत्साहनमूलक कार्यक्रम, क्याम्पसको शैक्षिक वातावरणलाई प्रविधिमैत्री बनाउने कार्यमा जोड दिने उहाँको भनाइ छ । विद्यार्थीलाई निरन्तररुपमा प्राथमिकता दिने, अवसर प्रदान गर्ने र बजारमा टिक्ने र बिक्नेगरी ज्ञान प्रदान गर्ने उहाँले बताउनुभयो । उहाँले नवीनतम विषयलाई क्याम्पसमा ल्याउनका लागि सम्बन्धित निकायहरुमा पहल गर्ने बताउनुभयो ।

विद्यार्थीको पढाइलाई बचाइसँग र महत्वपूर्ण शिक्षासँग जोडेर भविष्यमा बाँच्ने आधार बनाउने योजना बनाएको उहाँले बताउनुभयो । क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउनका लागि सम्मानित तरिकाको शिक्षा प्रदान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । प्रविधिसँग विद्यार्थीको पहुँच बढाउनका लागि अतिरिक्त क्रियाकलापलगायत क्षमता विकासका लागि प्रेरित गर्ने अवसर प्रदान गर्ने योजना बनाएको उहाँको भनाइ छ । जेहन्दार र न्यून वर्गका विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिको दायरा फराकिलो बनाउने उहाँले बताउनुभयो । स्थानीय निकाय, उद्योगपति, व्यापारी तथा शिक्षाप्रेमीहरुको सहयोगमा अक्षयकोष निर्माणका लागि पहल गर्ने उहाँले बताउनुभयो ।