हेटौंडा: डम्पिङ साइटको दीर्घकालीन समस्या समाधानका लागि गठित संघर्ष समितिले ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार संघर्ष समितिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामालाई ३५ दिने अल्टिमेटमसहित ध्यानार्कषणपत्र बुझाएको हो ।

प्रमुख जिल्ला अधिकारी चिलुवालले पालिकासँग छलफल गरेर समस्या समाधानका लागि सक्दो छिटो कदम चाल्ने बताउनुभयो । नगरप्रमुख लामाले सो विषय साझा समस्या भएको बताउनु भयो । कार्यपालिकामा उक्त विषय राख्ने र समाधानको अपाय अपनाउने उहाँले जानकारी दिनुभयो ।

संघर्ष समितिले डिभिजन वन कार्यालय मकवानपुर र वडाहरुलाई पनि ध्यानाकर्षणपत्र बुझाएको छ । डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले उक्त गतिविधिले मानव अधिकार नै हनन भएको बताउनुभयो । समस्या समाधानका लागि डिभिजनको सक्दो सहयोग हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन हुँदै आएको राप्ती खोला किनारको डम्पिङ साइटमा देखिएको समस्याको दीर्घकालीन समाधान गर्न भूटनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सोमबहादुर लामाको संयोजकत्वमा संघर्ष समिति गठन भएको हो । संघर्ष समितिले डम्पिङ साइटमा देखिने गरेका समस्याको दीर्घकालीन समाधान नभए संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।

केही दिनअघि डम्पिङ साइटमा थुपारिएको फोहोरमा आगलागी हुँदा वायु प्रदूषण भएको थियो । लगातार ४ दिनसम्म प्लाष्टिकजन्य फोहोरमा आगो बलिरहँदा हेटौंडाको वडा नम्बर १, ९, १० र ११ नम्बर वडाका विभिन्न बस्तीमा असर पुगेको थियो ।