आज माघ शुक्ल पञ्चमी अर्थात् सरस्वती पूजा हो । यस दिनलाई श्रीपञ्चमी तथा बसन्त पञ्चमीसमेत भन्ने गरिएको छ । सरस्वतीलाई विद्याकी देवी मान्ने गरिएकाले आजको दिन सरस्वतीको पूजा गरेर पढाइ सुरु गरे ज्ञान र पढाइ राम्रो हुने जनविश्वास छ । बालबालिकाको जीवनको पहिलो अक्षर लेख्ने दिन भएकाले सरस्वती पूजाको दिनलाई अक्षरारम्भको रुपमा समेत मनाउने प्रचलन बढ्दै गएको छ । सरस्वतीलाई विद्या र वाणीकी देवी मानेर आजको दिन विशेष पूजा आराधना गरिन्छ । यस दिन विद्यार्थीहरु बिहान सबैरै स्नान गरी सरस्वती मातासँगै कापी, कलम, किताबको समेत पूजा गर्ने गर्दछन् । सरस्वती पूजाको अवसरमा सबै शिक्षण संस्थामा सामूहिक रुपमा पूजा गर्ने र प्रसाद वितरण गर्ने गरिन्छ । तराई मधेशमा स्कूल, कलेजमात्र नभई चोक–चोकमा सामूहिक सरस्वती पूजा गर्ने, प्रसाद खाने, नाचगान गर्ने र रमाउने गरिन्छ ।
सरस्वतीलाई विद्यासँगै ज्ञान, संगीत, कला र साहित्यकी पनि देवी मानिन्छ । विद्यार्थीले सरस्वतीको पूजा गरेमा पढाइमा सफलता मिल्ने धार्मिक विश्वास छ । लेखक, कवि, पत्रकार, कलाकारहरुले पनि आ–आफ्ना काम गर्ने साधनसहित सरस्वतीको पूजा गर्ने परम्परा रहेको छ । ज्ञानको दिव्यज्योति प्रज्वलित गराई संसारको सागरबाट पार लगाउने आद्यशक्ति सरस्वतीमा रहेको विश्वास गरिन्छ । ज्ञानका साधकहरु सरस्वतीका उपासक मानिन्छ । त्यसैले कलाकी प्रतिमूर्ति र ज्ञानकी खानीको रुपमा सरस्वतीलाई मान्ने गरिएको छ । सरस्वतीको कृपा भएमा मानिसले आफ्नो ज्ञानको आँखा खोल्न सक्ने मान्यता रहेको छ । सरस्वती पूजाकै दिन विद्यालय नगाएका बालबालिकालाई अक्षरारम्भ (पढाउन प्रारम्भ) गरिन्छ । वैदिक पद्धतिअनुसार गरिने १६ संस्कारमध्येको एक संस्कारको रुपमा अक्षरारम्भलाई मानिएको छ । माघे संक्रान्तिबाट सूर्य उत्तरी गोलाद्र्धतर्फ सर्दछ । सूर्यको गति उत्तरतर्फ लागेपछि देवताहरुका दिन सुरु भएको मानिन्छ । देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक र सामाजिक सबै प्रकारको ज्ञान प्राप्त हुने विश्वास रहेको छ । यसदिन केटाकेटीको नाक–कान छेडिदिने प्रचलन पनि रहेको छ ।
ज्ञान वा विद्यासँग सम्बन्धित विभिन्न कार्य आरम्भ गर्न श्रीपञ्चमीको दिन उत्तम हुने ज्योतिषशास्त्रमा वर्णन भएको पाइन्छ । सरस्वतीको महिमा वेद, उपनिषद्, पुराण, देवीभागवत आदि ग्रन्थमा उल्लेख गरिएको छ । वैदिक ग्रन्थहरुमा जसले विद्याको साधना गर्छ, उसैका मुखमा सरस्वतीको बास हुन्छ भनिएको छ । विद्याको साधना गर्नु भनेको परिश्रम र मिहिनेत साथ अध्ययन गर्नु हो । त्यसैले सरस्वतीको पूजा आराधना गर्न भनेको विद्याको अध्ययन, चिन्तन, मनन र अभ्यास गर्नु हो । भगवतीको मन्दिरमा गई पूजा गर्नु भनेको अध्ययनतर्फ रुचि जगाउन मनलाई प्रेरित गर्नु हो अर्थात् मन पवित्र पार्नु हो । जबसम्म हाम्रो मन पवित्र हुँदैन, तबसम्म हामी केही पनि गर्न सक्दैनौं । श्रीपञ्चमीका दिन शुभकार्य गर्ने, अक्षरारम्भ गर्ने, सरस्वतीको विशेष पूजा आराधना गर्ने, ज्ञानका साधकले आफ्ना साधन पूजा गर्ने भनेको मनलाई शुद्ध बनाउने प्रयास हो । शुद्ध मनले गरेको चिन्तन सार्थक हुने भएकाले सरस्वती पूजालाई मन शुद्ध बनाउने अवसरको रुपमा लिन सकिन्छ ।
श्रीपञ्चमी अर्थात् सरस्वती पूजा बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गर्ने दिनको रुपमा पनि परिचित छ । पहिले सरस्वतीको मन्दिरमा गएर वा सरस्वतीको मूर्ति, फोटो अगाडि बसेर अक्षरारम्भ गराइन्थ्यो । पछिल्ला वर्षहरुमा विभिन्न मन्टेश्वरी, संस्थागत तथा सामुदायिक विद्यालयहरुले विद्यालय नगएका बालबालिकालाई भेला गराएर अक्षरारम्भ गराउने क्रम बढ्दै गएको छ । नयाँ विद्यार्थी आकर्षित गर्ने अवसरको रुपमा अक्षरारम्भ गराएर निःशुल्क भर्ना तथा अन्य सुविधासमेत घोषणा गर्ने परम्पराले प्राथमिकता पाइरहेको छ । लेखपढ सुरु गर्ने उमेर भएका बालबालिकालाई विद्यालय र सिकाइको धारणा विकास गराउन अक्षरारम्भ सकारात्मक बन्नसक्छ । तर, भरखर तोते बोली बोल्न थालेका बालबालिकाको मनोविज्ञानमा यसले पार्नसक्ने मानसिक र भावनात्मक असरको बारेमा चाहिँ बहस हुनु आवश्यक छ ।