हेटौंडा: कमाने क्रिकेट क्लबको आयोजनामा जारी तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको प्लेअफ समीकरण पूरा भएको छ । बिहीबार हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा समूह चरणको खेल सम्पन्न भएसँगै प्लेअफ समीकरण पूरा भएको हो ।
शनिबार कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताका अन्तिम खेलहरु सञ्चालन हुनेछ । बिहीबारको खेलबाट प्लेअफमा प्रवेश गर्ने टिमको टुंगो लागेको छ । कमाने बुल्स, कमाने टाइगर, कमाने लायन्स र कमाने रोयल्स प्ले अफमा प्रवेश गरेको क्लबका अध्यक्ष किशोर खत्रीले बताउनुभयो । शुक्रबार मैदान सरसफाइ र मैदानको संरचनालाई व्यवस्थापन गर्नुपर्ने कारणले शनिबार फाइनल चरणको तथा अन्य खेलहरु सञ्चालन हुने अध्यक्ष खत्रीले बताउनुभयो ।
प्रतियोगिता आयोजनाका लागि ८ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ । प्रतियोगिताका लागि प्रथम पुरस्कार जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले प्रायोजन गर्नुभएको छ भने म्यान अफ द म्याचको पुरस्कारको प्रायोजन इ प्लानेटका ब्राञ्च म्यानेजर सुमनराज भट्टराईले गर्नुभएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट ब्याट्सम्यान र सर्वोकृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ ।
वडा नम्बर ८ भित्रका खेलाडीहरुको पहिचान बढाउन, क्रिकेट खेलको क्रेज बढाउन, खेलाडीहरुबीच भातृत्वको सम्बन्ध कायम गराउन, खेलाडीलाई राष्ट्रियस्तरमा र्पुयाउन र क्रिकेट खेलको महत्वबारे बुझाउनका लागि प्रतियोगितालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । गत वर्ष भएको दोस्रो संस्करणको कमाने टी–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने राइडर्सले जितेको थियो । फाइनल खेलमा पहिलो संस्करणको प्रतियोगिताको विजेतासमेत रहेको कमाने हन्टर्सलाई ९ विकेटले हराउँदै राइडर्सले उपाधि चुम्न सफल भएको थियो ।