हेटौँडा ः कलिला बालबालिकालाई किताब, कापी थम्याउन नसकेर अभिभावक आजित भएको कुरा सामान्य जस्तै हो । विद्यालय जाने उमेरका बालबालिकाका अधिकांश अभिभावकको चिन्ता आफ्ना बालबालिकालाई किताब पढ्दैन, गृहकार्य गर्दैन, पढाई, लेखाई राम्रो भएन भन्ने रहन्छ । तर, हेटौँडा–४ स्थित नवोदय शिशु सदनमा कक्षा १ देखि नै विद्यार्थीले किताब लेख्छन् । आफूले लेखेका किताब आफ्ना अभिभावक, अतिथिका अगाडि प्रस्तुत गर्दै प्रतिक्रिया, सल्लाह, सुझाव मागिरहेका छन् । कलिला बालबालिकाको यस्तो रचनात्मक अभ्यासमा विद्यालय प्रशासन र शिक्षकले निरन्तर सहजीकरण गरिरहेको छ ।
आइतबार कक्षा–३ मा अध्ययरत ३ वटा सेक्सनका विद्यार्थीले ‘कफि हाउस’ मा आफ्ना पुस्तक सार्वजनिक गर्दै पुस्तकमा समावेश भएका मध्ये एउटा रचना प्रस्तुत समेत गरेका छन् । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न, बालबालिकामा भाषाको सीप विकास गर्न, बालबालिकाले सिकेका सीप, ज्ञान उजागर गर्न, सिर्जनात्मक क्षमता प्रष्फुटन गराउन ‘कफि हाउस’ को अवधारणामा ७ वर्षदेखि बालबालिकामा लेखन तथा प्रस्तुतीको अभ्यास गरिरहेको छ ।
विद्यार्थीले पुस्तकमा कथा, कविता, निबन्ध, प्रबन्ध, संवादजस्ता रचना समावेश गर्ने गरेका छन् । विद्यार्थीलाई आफ्ना रचनालाई पुष्टि गर्ने गरी चित्र समेत समावेश गर्ने गरेका छन् । बालबालिकाको लेखन क्षमता विकास गर्न विद्यालयले एक महिना लामो लेखन कार्यशाला नै सञ्चालन गरेको नवोदय शिशु सदनका मावि तह संयोजक सीएम रिमालले जानकारी दिनुभयो । पुस्तक लेखन तथा प्रस्तुतीमा कक्षा १ देखि ९ सम्मका झण्डै एक हजार विद्यार्थी सहभागी हुन्छन् ।
विद्यार्थीको प्रस्तुतीको समयमा अभिभावकलाई पनि सहभागी गराइन्छ । सात वर्षको अवधिमा अभिभावकको उपस्थिति शतप्रतिशत जस्तै रहने गरेको रिमाल बताउनुहुन्छ । ‘लेखन कार्यशालामा सहभागी भएर तयार पारेका पुस्तकको प्रस्तुतीको कार्यक्रम कफि हाउसमा विद्यार्थीको रचनात्मक पक्ष सकारात्मक र उपलब्धीमूलक देखिएको छ’, रिमालले भन्नुभयो, ‘विद्यार्थीको प्रस्तुतीको समयमा अभिभावकको उपस्थिति पनि प्रशंसनीय र शतप्रतिशत् जस्तै छ ।’ विद्यार्थीले रचना तयार पार्दा र प्रस्तुत गर्दा नेपाली र अंग्रेजी दुबै भाषामा बराबर हुनुपर्ने व्यवस्था गरिएको छ ।