मेरा अधिकांश साथीहरु कथित दलित समुदायका थिए । हामी सँगै खान्थ्यौं, खेल्थ्यौं, पढ्थ्यौ । कहिल्यै लागेन उनीहरू साना जातका । म ठूलो जातको । हामी बीच केही भिन्नता थिएन र हुँदैन पनि ।
एकदिन हामी एकजना बाहुन समुदायका डिग्रीधारी शिक्षकको कोठामा ट्युसन पढ्न गयौं । त्यहीँ दिन देखेँ जातिय विभेद्को पराकाष्ठा । मेरा साथी डिग्रीधारी शिक्षकको कोठा बाहिर परे । म भित्र पस्न पाएँ । कारण, उनीहरूलाई समाजले सानो र मलाई ठूलो जात भनेर हामी जन्मिनु अघि नै वर्गीकरण गरिसकेको रहेछ ।
त्यसै दिनबाट मलाई धेरै पढेर डिग्रीधारी हुने मन भएन । धेरै पढेर बुद्धि बढ्ने होईन रहेछ भन्ने लाग्यो ।
डिग्रीधारी तर श्रीमती कुट्ने ।
डिग्रीधारी तर जातीय विभेद् गर्ने ।
डिग्रीधारी तर रजस्वला भएकी छोरीलाई छाउगोठमा पठाउने ।
यी सबै घटना देखेपछि मलाई डिग्रीधारी विद्वान जस्तो बन्न मन लागेन ।
हाम्रो गाउँमा एकजना गाईने दाइ बस्थे । उनकी एक छोरी र श्रीमती पनि थिए । प्रायः सपरिवार गाउँदै हिँड्थे । डिग्रीधारी विद्वानहरू भन्दा, सारङ्गी बोकेर जीवन जगतका गीत गाउँदै हिँड्ने गाईने दाइ धेरै असल मान्छे लाग्थ्यो मलाई ।
किनभने उनी मेरा दलित साथीहरूका घरमा पनि गाउँथे । मेरो घरमा पनि गाउँथे । कसैले केही दिए बुढाबुढी बाँडेर खान्थे । उनकी छोरीलाई छाउगोठमा पनि पठाएको देखिन क्यारे । उनी खुसी थिए । उनको परिवार खुसी थियो ।
त्यसैले मेरो कोमल मस्तिष्कमा यस्तो छाप बस्यो ः
१) ठूला मान्छे असल हुँदैनन् ।
२) सर्टिफिकेटले बुद्धि बढ्ने होईन रहेछ ।
३) डिग्रीधारी शिक्षक भन्दा भुईफुट्टा गाईने दाइ धेरै ज्ञानी मान्छे रहेछन् ।
राम्रै भएछ जीवनमा यस्ता घटनाहरूको साक्षी बन्न पाएर । कमसेकम मैले भ्रममा बाँच्नु परेन । शाश्वत सत्य जान्न पाएँ । कहिलेकाहीँ आमाले मायाले ‘ज्ञानी मान्छे बन्नुपर्छ है शिवराज’ भन्नुहुन्थ्यो । मेरा आँखामा उनै गाईने दाइ आउँथे । उनको सारङ्गी आउँथ्यो । मनमनै कर्खा बज्थ्यो । सारङ्गी सपनाले काउकुती लाउँथ्यो ।