हेटौँडा : बागमती प्रदेश सरकारको आयोजनामा हेटौँडामा स्पोटर्स अवार्ड र युथ समिटको आयोजना गरिने भएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठको पहिलो साता उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

युवा तथा खेलाडीहरुको प्रोत्साहन र सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना गर्ने तयारी गरिएको प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिनुभयो । संघीयता कार्यान्वयनको चरणमा अघि बढ्ने क्रममा प्रदेशमा पहिलो पटक स्पोट्र्स अवार्ड कार्यक्रम आयोजना गर्ने तयारी भएको मन्त्री महर्जनले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रियस्तरमा देशको नाम राख्न सफल खेलाडी तथा युवालाई कार्यक्रममा पुरस्कृत गर्नेगरी प्रदेश सरकार अघि बढेको छ ।

कार्यक्रम हेटौँडाको हुप्रचौरमा हुनेछ । अवार्ड अन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक कार्यक्रम पनि रहने मन्त्री महर्जनले बताउनुभयो । कार्यक्रमबाट खेलकुदमा लाग्नेहरुलाई प्रेरित गर्ने आफुले अपेक्षा राखेको मन्त्री महर्जनको भनाई छ । ‘युवा खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिता आयोजना गरेर मात्रै पुग्दैन । उनीहरुलाई हौसलासँगै प्रोत्साहनमा पनि राज्य कार्यक्रमहरु तय गर्नुपर्छ’, मन्त्री महर्जनले भन्नुभयो, ‘खेल क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, पत्रकार र व्यवस्थापकहरुलाई समय समयमा पुरस्कृत र सम्मान गर्नुपर्छ । यस्ता पुरस्कार तथा सम्मानले नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्छ भन्ने अग्रजहरुले सम्मानित महसुस गर्न पाउँछन् ।’

स्पोट्र्स अवार्डमा खेलाडी तथा पत्रकार पुरस्कृत गर्न मन्त्रालयले ३ सदस्यीय छनोट उपसमिति समेत गठन गरेको छ । जसमा संयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा तेक्वान्दोका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक प्रेम बहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहनुभएको छ ।

उक्त उपसमितिले १० दिन भित्र प्रदेशमा रहेका नयाँ र पुराना गरी ९ जना प्रतिभावान खेलाडी, खेलकुद क्षेत्रको समाचार सम्प्रेषण गर्ने एक जना खेलकुद पत्रकारको नाम सिफारिस गर्नेछ । उपसमितिको सिफारिस अनुसार मन्त्रालयले खेलाडी र पत्रकारलाई नगदसहित सम्मान गर्नेछ । गत असोजमा मन्त्री महर्जनको अगुवाईमा मुख्यमन्त्री कार्यालय हेटौँडामा पारा ओलम्पिक खेलदकु प्रतियोगितामा कास्य पदक बिजेता तेक्वान्दोकी पलेशा गोवद्र्धनलाई नगद १० लाख रुपैयाँ र १९ औं एसियन गेममा रजत पदक बिजेता करातेकी एरिका गुरुङ नगद ५ लाख रुपैयाँसहित हेटौँडा बजार परिक्रमा गरी सम्मान गरेको थियो ।