नवनियुक्त प्रधानाध्यापक बसन्त राई ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–८, फापरबारीस्थित जनता माध्यमिक विद्यालयको प्रधानाध्यापकमा बसन्त राई नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले राईलाई प्रधानाध्यापक नियुक्त गरेको हो । राई यसअघि पनि एक कार्यकाल प्रधानाध्यापक भइसक्नुभएको छ ।

यसअघिका प्रधानाध्यापक दिनेश माझीले दिनुभएको राजीनामा बिहीबार नै स्वीकृत गरेर विद्यालय व्यवस्थापन समितिले बसन्त राईलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । यसअघि बसन्त २०७३ साल बैशाखदेखि २०८० बैशाखसम्म प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएको थियो । २०७२ सालको आयोगमा माध्यमिक तहमा नेपाली शिक्षकको रुपमा नियुक्ति लिनुभएका बसन्त बागमती गाउँपालिकाकै स्थायीवासी हुनुहुन्छ । २०६५ सालदेखि २०७० सालसम्म हेटौँडामै संस्थागत विद्यालयमा अध्यापन गराउनुभएका राई २०७० सालदेखि जनता माविमै निमावि अस्थायी करार शिक्षकको रुपमा काम गर्नुभयो भने २०७१ सालदेखि मावि राहत दरबन्दीमा काम गर्नुभएको थियो ।

१२ कक्षासम्म पठनपाठन हुने जनता माविमा १ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्याअनुसार शिक्षक दरबन्दी नहुँदा निजी स्रोतका शिक्षक राख्नुपर्ने बाध्यता विद्यालयलाई रहेको प्रधानाध्यापक राई बताउनुहुन्छ । पालिकाले पनि २ जना शिक्षकका लागि बजेट उपलब्ध गराएको उहाँको भनाइ छ । विद्यालयमा सबैको साथ, सहयोगमा शैक्षिक सुधारको काम गर्ने राई बताउनुहुन्छ ।