हेटौँडा ः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले हेटौँडा–१, लालझाडीस्थित बाराही आधारभूत विद्यालयलाई डेस्कबेन्च र गेट सहयोग गरेको छ । आइतबार बालजागृति स्कूल परिसरमा बाराही आधारभूत विद्यालयकी प्रधानाध्यापक मञ्जु देवकोटालाई सहयोग हस्तान्तरण गरिएको छ ।
करिब १ लाख रुपैयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरिएको बालजागृतिका प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो । विद्यालयका लागि एउटा गेट र १२ थान काठको बेञ्च हस्तान्तरण गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गरिएको प्रिन्सीपल सुवेदीको भनाइ छ । बालजागृतिले यसअघि पनि ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय र विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।
बाराही आधारभूत विद्यालयकी प्रधानाध्यापक मञ्जु देवकोटाले प्राप्त सहयोग सामग्रीले विद्यालय र विद्यार्थीलाई सहज हुने बताउनुभयो । बेञ्चको अभाव भइरहेका बेला प्राप्त सहयोगले विद्यार्थीलाई सुविधा र सहजता हुने प्रधानाध्यापक देवकोटाको भनाइ छ । ८ कक्षासम्म पठनपाठन हुने बाराही आधारभूत विद्यालयमा एक सय ४८ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा एक सय ३० जना विद्यार्थी नियमित उपस्थित हुने गरेको प्रधानाध्यापक देवकोटाले जानकारी दिनुभयो ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत हरिचन्द्र सापकोटा, रमेश विडारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारी, सञ्चालक समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, प्रबन्धक मोहनप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो ।